
काठमाडौं, २५ असोज । सत्तारुढ गठबन्धनले गठबन्धनविरुद्ध परेका बागी उम्मेदवारी फिर्ता लिन २० घन्टाको समय दिएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति निकालेर बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् ।
गठबन्धनमा सहमति भए अनुसार पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवार विरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरुले समयभित्रै आआफ्नो उम्मेदवारी फिर्ता गर्न संयुक्त विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
शीर्ष नेताले भोलि दिउँसो १ बजेसम्म बागी उम्मेदवारी फिर्ता नलिनेलाई पार्टीबाट निष्काशन गर्ने चेतावनी पनि दिएका छन् ।
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा असोज २६ गते दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरुले उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरुले निष्काशन गर्ने व्यहोरा अवगत गराइन्छ ।’
