भारतमा गाईलाई राष्ट्रिय जनावर घोषणा गर्नुपर्ने माग सर्वोच्च अदालतद्वारा खारेज
अखबार टुडे
प्रकाशित:
२०७९, २५ आश्विन

काठमाडौं, २५ असोज (एजेन्सी) । भारतमा गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न माग गर्दै दायर भएको निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

गाईलाई भारतको राष्ट्रिय जनावर घोषणा गर्न माग गर्दै भारतको गैरसरकारी संस्था गोवंश सेवा सदन लगायतले भारतको सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।

रिट निवेदनमा गाईलाई मुलुकको राष्ट्रिय जनावर घोषणाका लागि सरकारलाई आदेश दिन माग गरिएको थियो । तर न्यायाधीशहरुले अनावश्यक रिट दर्ता गराएको भन्दै खारेज गरिदिएका हुन् ।

सुनुवाइका क्रममा न्यायाधीशहरु एस. के. कौल र अभय एस ओकाले गाईलाई राष्ट्रिय जनावर नबनाउँदा कुन मौलिक अधिकार प्रभावित भएको छ ? भनी निवेदकसँग प्रतिप्रश्न गरेका थिए । साथै उनीहरुले गाईलाई राष्ट्रिय जनावर बनाउने कि नबनाउने भन्ने कुराको फैसला गर्ने काम अदालतको हो र ? भनेर पनि प्रतिप्रश्न गरेका थिए ।

निवेदनकर्तालाई चेतावनी दिँदै न्यायाधीशहरुले भने– ‘उल्टै जरिवाना लगाउनु पर्ने खालका निवेदन किन गर्नुहुन्छ ? कुन मौलिक अधिकारको उल्लंघन भयो ? तपाईं अदालत आउनुभयो भन्दैमा हामीले नकारात्मक नतिजाको परवाह नगरीकनै फैसला गरौं ?’

निवेदनकर्ताको तर्फबाट पेश भएका वकिलले अदालतमा बहस गर्दै गाईको सुरक्षा निकै महत्वपूर्ण रहेको बताएका थिए । तर अनावश्यक भन्दै उक्त मुद्दा नै खारेज गरिदिएको छ ।

प्रतिक्रिया