
काठमाडौं, २५ असोज । सत्ता गठबन्धनबाट अलग भएसँगै जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई पनि हटाउने तयारी गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले हाल सरकारमा रहेका जसपाका मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन् । जसपाका चार मन्त्री सरकारमा छन् ।
प्रधानमन्त्री देउवाले जसपाका चारजना मन्त्रीहरुलाई तत्काल हटाउने बताइसकेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिपक्षी नेकपा एमालेसँग तालमेल गरेपछि जसपाबाट सरकारमा रहेका चार मन्त्री हटाउनेबारे मंगलबार सत्ता गठबन्धनमा छलफल भएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकमा जसपाका मन्त्रीहरु हटाउनेबारे छलफल भएको हो । जसपाले सत्ता गठबन्धन छाडेसँगै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले तालमेल गरिसकेको छ ।
मंगलबार सत्ता गठबन्धन बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री देउवाले जसपाबाट प्रतिनिधित्व गर्ने चार मन्त्रीलाई तत्काल हटाउने बताएका छन् ।
उनका अनुसार जसपा एमालेसँग तालमेलमा गइसकेको र अब उसका मन्त्रीहरुलाई तत्काल हटाउने प्रधानमन्त्री देउवाले बताए । मन्त्रिपरिषदको अधिकार प्रधानमन्त्रीमा निहित भएकाले चार मन्त्री हटाउन मन्त्रिपरिषद् बैठक आवश्यक नपर्ने र त्यही अनुसार देउवाले निर्णय गरेर जसपाका मन्त्रीहरुलाई बिदा गर्न लागेको बताइएको छ ।
जसपाबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरणमन्त्री प्रदीप यादव देउवा क्याबिनेटमा छन् ।
जसपाको मन्त्रालय खोस्ने या हटाउने विषयमा देउवाले कानुन व्यवसायी र गठबन्धन दलसँग पनि परामर्श गरिसकेका छन् । छलफलपछि देउवाले जसपाका मन्त्रीहरुलाई सरकारबाटै बिदा गर्न लागेका हुन् ।
तर, जसपाले भने आफ्ना मन्त्रीहरू सरकारबाट फिर्ता नबोलाउने जनाएको छ । निर्वाचनमा चुनावमा आफूले चाहेको जति सिट उपलब्ध नभएपछि उपेन्द्र यादव नेतृत्वको जसपाले अन्तिम घडीमा सत्तारुढ गठबन्धनबाट बाहिर गएर प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग तालमेलको सहमति गरेको थियो ।
वर्तमान सरकारको अबको उद्देश्य नै चुनाव सञ्चालन भएकाले आफ्ना पार्टीका मन्त्रीहरू त्यसमा अडिग रहने जसपाका प्रवक्ताले बताएका छन् ।
जसपाका प्रवक्ता मनिष सुमन भन्छन्, ‘यो त अब चुनावी सरकार हो। सफल रूपमा चुनाव सम्पन्न गराउनु यसको उद्देश्य हो । यसमा हाम्रा मन्त्रीहरू सहभागी भइरहन्छन् ।’ उनले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउनेबारे तत्काल योजना नरहेको पनि बताएका छन् ।
जसपाका प्रवक्ता मनिष सुमनका अनुसार सत्तारूढ गठबन्धनमा सिट बाँडफाँटका कुरा हुँदा आफ्नो पार्टीलाई प्रतिनिधिसभामा ११ सिटसम्म मात्रै दिने कुरा भएपछि जसपाले विकल्प रोजेको हो ।
