जसपाका मन्त्रीलाई हटाउने प्रधामन्त्री देउवाको तयारी
अखबार टुडे
प्रकाशित:
२०७९, २५ आश्विन

काठमाडौं, २५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका ४ मन्त्रीलाई हटाउने तयारी गरेका छन् ।

सत्ता गठबन्धनमा रहेका जसपाले आसन्न निर्वाचनमा एमालेसंग तालमेल गरी उम्मेदवारी दर्ता गरापछि प्रधानमन्त्री देउवाले जसपाका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई हटाउने तयारी गरेका हुन् ।

जसका लागि प्रधानमन्त्री देउवाले आज दिउँसो सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरुलाई छलफछ गर्दैछन् । निर्वाचन आचारसंहिता लागू भइसकेकाले जसपा नेताहरुलाई मन्त्री पदबाट हटाउन मिल्ने नमिल्ने बारे प्रधानमन्त्री देउवाले गठबन्धनको बैठकमा निर्वाचन आयोग र अदालतसँग परामर्श गरेर निर्णय लिने जानकारी दिएका थिए ।

आयोगसँगको परामर्शपछि देउवाले जसपाका मन्त्रीलाई हटाउने तयारीमा पुगेका हुन् । प्रधानमन्त्री देउवाले प्रमुख निर्वाचन आयुक्तलाई उनीहरूलाई हटाएपछि नयाँ नियुक्ति गर्न मिल्ने वा नमिल्नेबारे परामर्शसमेत गरेको बताइएको छ । आयोगबाट समेत हटाउन सकिने परामर्श पाएपछि देउवाले सरकारमा रहेका चार मन्त्रीलाई केही दिनमा पदमुक्त गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया