युक्रेनको राजधानी किभमा रुसको कैयौँ मिसाइल आक्रमण
अखबार टुडे
प्रकाशित:
२०७९, २४ आश्विन

काठमाडौं, २४ असोज । रुसले बिहानैदेखि युक्रेनको राजधानी किभमा कैयौँ हवाई आक्रमण गरेको छ । युक्रेनका सेना प्रमुखले रुसले बिहानैदेखि ७५ वटा मिसाइल प्रहार गरेको दाबी गरेका हुन् ।

जनरल भ्यालेरी जालुज्नीले ट्वीट गर्दै ७५ मध्ये ४१ क्षेप्यास्त्रलाई वायु रक्षा प्रणालीमार्फत निष्क्रिय पारिएको बताए पनि यसको स्वतन्त्र पुष्टि भइनसकेको बीबीसीले जनाएको छ ।

उक्त हमलामा परी ८ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । युक्रेनका एक मन्त्रीले सामाजिक सञ्जालमा आक्रमणमा परी ६ वटा कारमा आगो लागेको र अन्य १५ सवारी साधनमा क्षति पुगेको जानकारी दिएका छन् ।

रुसी मिसाइल आक्रमणमा किभको एक प्रसिद्ध पुल पनि ध्वस्त भएको बताइएको छ । किभमा रहेको पैदल यात्रु हिड्ने पुल नराम्ररी क्षतिग्रस्त भएको छ । मानिसहरूले साइकल चलाउनको लागि उक्त पुल प्रयोग गर्थे जुन सन् २०१९ मा निर्माण गरिएको हो । नीपर नदीको किनारमा बनेको यो पुल पर्यटकका लागि ठूलो आकर्षणको केन्द्र बनेको छ ।

रुसले किभका महत्वपूर्ण भवनहरूलाई निशाना बनाएको किभका मेयरले दाबी गरे । बीबीसीका अनुसार किभ बाहेक युक्रेनका अन्य धेरै सहरहरू पनि आक्रमणको चपेटामा परेका छ ।

गएरातिदेखि रुसले युक्रेनको दक्षिणी क्षेत्रलाई आक्रमणको निशाना बनाइरहेको छ । आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राम पोस्टमा लेखेका छन्, ‘रुसले हामीलाई नष्ट गर्न चाहन्छ, हामीलाई पृथ्वीबाट मेटाउन चाहन्छ । युक्रेनभरि यसको घन्टी बजिरहेको छ ।’

किभलगायत अन्य सहरमा भएका आक्रमणमा जनधनको क्षति भएकोले उनले आफ्ना नागरिकलाई बंकरमा बस्न अपिल गरेका छन् ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका धेरै ठाउँमा आक्रमण भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । एक भिडियो सम्बोधनमा भ्लादिमिर पुटिनले रुसको लामो दूरीका क्षेप्यास्त्रले युक्रेनको ऊर्जा, सैन्य र सञ्चार सुविधालाई निशाना बनाएको बताएका हुन् ।

सम्बोधनमा पुटिनले रूसी क्षेत्रमा कुनै पनि ‘आतंकवादी’ गतिविधिलाई ‘कडा’ जवाफ दिइने कुरा दोहो¥याएका छन् ।

प्रतिक्रिया