सांसद हुने लोभले एमालेका खिमलालले गुमाए राष्ट्रियसभा सदस्य पद
अखबार टुडे
प्रकाशित:
२०७९, २४ आश्विन

काठमाडौं, असोज २४ । नेकपा एमालेका नेता खिमलाल भट्टराईले निर्वाचनको टिकट र राष्ट्रिय सभाको सांसद दुवै गुमाएका छन् ।

राष्ट्रिय सभाको सांसद पदबाट राजीनामा दिँदै भट्टराईले रूपन्देही–५ बाट उम्मेदवारी दर्ता गराए पनि मान्यता नदिएपछि टिकट र सांसद पद दुवै गुमाएका हुन् ।

एमालेका खिमलाल भट्टराईले राष्ट्रिय सभाको सांसद पदबाट राजीनामा दिँदै रूपन्देही–५ बाट उम्मेदवारी दर्ता गराएका थिए । जबकि त्यसअघि नै एमालेबाट रूपन्देही– ५ मा बासुदेव घिमिरेले उम्मेदवारी दर्ता गराएका थिए ।

घिमिरेले उम्मेदवारी दर्ता गराए पनि एमालेले खिमलाललाई पनि टिकट दिएको थियो । निर्वाचन कार्यालयमा आइतबार दुबैको उम्मेदवारी दर्ता भएको थियो ।

एमालेले निर्वाचन कार्यालयलाई पत्र पठाएर बासुदेव घिमिरेको उम्मेदवारी भुलबस भएको उल्लेख गर्दै खिमलालको टिकटलाई मान्यता दिएको थियो । तर निर्वाचन कार्यालयले पहिला दर्ता भएको उम्मेदवारीको उम्मेदवारी मान्य हुने निर्णय गर्दै बासुदेव घिमिरेको उम्मेदवारी कायम गरिदिएको छ । योसँगै नेकपा एमालेले राष्ट्रिय सभामा एक सिट पनि गुमाएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा अब नेकपा एमालेका सांसदको संख्या १६ मा झरेको छ ।

खिमलाल भट्टराई राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक थिए। प्रमुख सचेतकको हैसियतमा उनले राज्यमन्त्री सरह सुविधा पाउँदै आएका थिए । एमालेको नेतृत्वले समयमै विचार नपु¥याउँदा राष्ट्रिय सभामा एमाले खुम्चन पुगेको हो ।

राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्रका १५ सांसद, नेपाली कांग्रेसका १०, नेकपा एकीकृत समाजवादीका ८, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद १ जना छन्। त्यस्तै, राष्ट्रपतिबाट ३ जना मनोनीत छन् ।

प्रतिक्रिया