
काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावका लागि आगामी मंसिर ४ गते तय भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (आइतवार) प्रत्यक्षतर्फको उम्मेदवारीको मनोनयनपत्र दर्ता गर्दैछ ।
आइतवार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्ने आयोगले जनाएको छ ।
मनोनयनपत्र दर्ता गराउँदा सबै समुदाय तथा लिङ्गको प्रतिनिधित्व हुनेगरी गराउन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आग्रह गरेका छन् । आउँदो मंसिर ४ गते देशैभरि एकै चरणमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।
आयोगले दुवै सभाको निर्वाचनका उम्मेदवारहरूले विभिन्न विषयबारे स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको छ ।
आयोगले सार्वजनिक गरेका बुँदामा संविधानप्रति निष्ठावान् भएको, सरकारी कोषबाट आर्थिक सुविधा पाउनेगरी लाभको पदमा नरहेको लगायत घोषणा गर्नुपर्ने विषय समेटिएका छन् ।
तोकिएका विषयबारे उम्मेदवारहरूले स्वघोषणा गर्नु अनिवार्य भएको आयोगले जनाएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार अनुसार प्रत्येक उम्मेदवारले मनोनयनपत्रसँगै स्वघोषणा पेश गर्नुपर्ने भएकोले मनोनयन दर्ता गर्नुअगावै स्वघोषणापत्रमा दस्तखत गर्न भनिएको छ ।
स्वघोषणा झूटो साबित भए उम्मेदवारी खारेजसमेत हुनसक्ने उनको भनाइ छ । उनले भने, ‘दाबीविरोधका क्रममा उम्मेदवारले आफूविरुद्ध गरिएका उजुरीलाई गलत प्रमाणित गर्न नसकेको खण्डमा उम्मेदवारी रद्द पनि हुनसक्छ ।’
के–के स्वघोषणा गर्नुपर्छ ?
आयोगका अनुसार प्रदेश र प्रतिनिधिसभा सदस्यका उम्मेदवारले निम्न विषयमा स्वघोषणा गर्नुपर्ने हुन्छ :
नेपालको संविधानप्रति पूर्ण निष्ठावान् रहेको,
पच्चीस वर्ष उमेर पूरा भएको नेपाली नागरिक,
प्रतिनिधिसभाको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको,
प्रदेशसभाको हकमा सम्बन्धित प्रदेशको गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको,
कुनै सङ्घीय कानुनअनुसार अयोग्य नभएको,
नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल नरहेको,
सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउनेगरी कुनै लाभको पद धारण नगरेको,
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिमको अयोग्यता नभएको,
निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा (३) बमोजिम कारबाही नभएको,
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारका लागि कुनै दलको बन्दसूचीमा नपरेको,
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्य कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारका लागि मनोनयन पत्र पेश नगरेको,
कुनै पनि सरकारी निकायलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको,
सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको,
संविधानको धारा २९१ बमोजिम विदेशको स्थायी आवासीय अनुमतिपत्र (डिभी, पीआर) नलिएको,
न्यायिक वा अर्धन्यायिक निकायबाट लागेको कैद सजाय, जरिवाना तिर्न बाँकी नरहेको,
प्रचलित कानुनबमोजिम कुनै सरकारी निकायलाई बुझाउनुपर्ने कर, राजस्व, शुल्क, दस्तुर तिर्न बुझाउन बाँकी नरहेको,
निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न प्रतिबद्ध रहेको,
नेपालको संविधान, कानुन र निर्वाचन ऐन, नियमभित्र रही निर्वाचनमा भाग लिन प्रतिबद्ध रहेको,
निर्वाचित भएको अवस्थामा मनोनयनपत्रका साथ सिलबन्दी रूपमा पेश गरेको सम्पत्ति विवरण निर्वाचन आयोगबाट सार्वजनिक गर्न मञ्जुरी जनाउनुपर्ने छ ।
