रुपन्देही-१ मा घनश्यामलाई गठबन्धनको समर्थन
अखबार टुडे
प्रकाशित:
२०७९, २३ आश्विन

काठमाडौं, २३ असोज । नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले प्रतिनिधिसभा निर्वाचनको लागि रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

आइतबार आफ्नै निवास रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गरी भुसालले उम्मेदवारी घोषणा गरेका हुन् ।

नेकपा माओवादी केन्द्रको भागमा परेको रुपन्देही १ मा नेता भुसाललाई सत्ता गठबन्धन दलले साथ दिने भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएको भएपनि गठबन्धनका दलले सहयोग गर्ने सहमति भएको नेता भुसालले जानकारी गराए ।

नेता भुसालले चुनाव चिन्ह भने तय भइनसकेको बताए । माओवादी अध्यक्ष प्रचण्डले आफूलाई सघाएर उम्मेदवारीमा समर्थन गरेकोप्रति उनले प्रचण्डलाई धन्यबाद दिए ।

तत्कालका लागि स्वतन्त्र नै भएर निर्वाचनमा लाग्ने बताउँदै नेता भुसालले आफू बाम एकताको प्रयासमा लागि रहेको बताए । तर, आफू कुन दलमा जाने भन्नेबारे भने खुलाएनन् ।

नेता भुसालले एमाले अध्यक्ष केपी ओलीमा ब्यक्तिबाद हाबी भएको र पार्टीको नीति, सिद्धान्त अनुसार ओली चल्न नसकेको आरोप लगाए । पार्टीमा नीति अनुसार नेतृत्व चल्न नसकेकाले आफूले पार्टी परित्याग गरेको उनले उल्लेख गरे ।

प्रतिक्रिया