निर्वाचनको दिन सार्वजनिक सवारीसधान आवतजावतमा अवरोध गरिँदैन : आयोग
अखबार टुडे
प्रकाशित:
२०७९, २२ आश्विन

काठमाडौं, २२ असोज । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दिन सार्वजनिक सवारीसधान आवतजावतमा अवरोध नगर्ने बताएको छ । आगामी मंसिर ४ गते देशभर एकसाथ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।

आयोगले सो दिन गृह मन्त्रालय, यातायात व्यवस्था विभागसँग समन्वय गरेर व्यवस्थित रूपमा सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिने जनाएको हो ।

शनिबार पत्रकार सम्मेलन गर्दै प्रमुख आयुक्त दिनेशप्रसाद थपलियाले निर्वाचन हो कि नेपाल बन्द हो भन्ने परिस्थिति अब नहुने बताए । उनले भने– ‘निर्वाचनको दिन व्यवस्थित रूपमा सार्वजनिक सवारी साधन सञ्चालन हुनेछ ।’ यसअघिका निर्वाचनमा सार्वजनिक यातायातका सवारी चल्न दिइएको थिएन ।

यस्तै, आयोगले उम्मेदवारी मनोनय दर्ताको समय थप्न नसक्ने जनाएको छ । आयोगले मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै तोकिएको समयभित्र उम्मेदवारी मनोनयन दर्ता गर्न दलहरुलाई निर्देशन दिएको छ । आयोगले आइतबार (असोज २३ गते) ५ बजेभित्र दर्ता गराइसक्न राजनीतिक दलहरूलाई आयोगले आग्रह गरेको हो ।

‘१० बजेदेखि पाँच बजेसम्म समय तोकिएको छ । समयभन्दा उता आयोगले मनोनयन लिने छैन’ प्रमुख आयुक्त थपलियाले भने, ‘राजनीतिक दलहरूलाई पर्ने अप्ठ्यारामा सहजीकरणका निम्ति आयोग तयार छ । तर मनोनयनको समय र दिन भने सर्दैन ।’
निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको उनले बताए ।

निर्वाचन विथोल्ने प्रयासलाई निस्तेज पार्नका निम्ति सुरक्षा संवेदनशीलताका आधारमा मतदान केन्द्रको वर्गीकरण गरिएको उनको भनाइ छ । मतदातालाई धम्क्याउने वा प्रभावित पार्ने जो कोहीलाई पनि आयोगले कानुन बमोजिम कारबाही गर्ने जनाएको छ ।

प्रतिक्रिया