घनश्याम भुसालद्वारा एमाले परित्याग, भीम रावल के गर्छन् ?
अखबार टुडे
प्रकाशित:
२०७९, २२ आश्विन

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गरेका छन् । एमालेले प्रतिनिधिसभाको उम्मेदवार नबनाएपछि नेता भुसालले शनिबार एमाले छाडेको घोषणा गरेका हुन् ।

शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले एमाले परित्याग गरेको घोषणा गरेका छन् । पार्टीमा केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिता मौलाएको भन्दै एमालेको गौरवलाई कुनै दिन पुनस्र्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै आएपनि अति भएकाले एमाले परित्याग गरेको उनको भनाइ छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ । तर म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।’

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशनमा आफूविरुद्ध उभिएका नेताहरुलाई छानीछानी उम्मेदवारबाट बाइपास गरेका छन् । सोही क्रममा भीम रावल पनि परेका छन् ।

एमालेको १०औँ महाधिवेशनमा भीम रावलले ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएका थिए । ओलीले भीम रावललाई पनि टिकट दिएनन् । तर, अहिलेसम्म भीम रावलले कुनै निर्णय गरेका छैनन् । उनले आजदेखिभरी सोचेर निर्णय लिने बताएका छन् । अछाम १ बाट चुनाव लड्ने तयारीमा रहेका भीम रावललाई टिकट वितरणका जिम्मा पाएका अध्यक्ष ओलीबाट बाइपास भएपछि अहिले उनी मौन छ । नेता भुसालले जस्तै भीम रावलले पनि पक्कै केही न केही निर्णय गर्ने नै छन् । तर, उनका अनुसार त्यसका लागि आज दिनभरी कुर्नुपर्ने छ ।

भुसालद्वारा स्वतन्त्र उम्मेदवारी दिने तयारी
एमाले परित्याग गरेका घनश्याम भूसालले भने रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । उनी निकट स्रोतहरूका अनुसार भूसाललाई सो क्षेत्रमा सत्तारुढ पाँच दलीय गठबन्धनले सघाउने छ । भूसालले आफ्नो गृहनगर मणिग्रामसमेत पर्ने रुपन्देही १ बाट उम्मेदवारको दाबी गर्दै आएका थिए ।

भुसालले २०७४ सालको आम निर्वाचनमा पनि रुपन्देही–१ बाट टिकट मागेपनि पार्टी छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको थियो । यस पटक पनि एमालेले विश्वकर्मालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसपटक भूसालको नाम रुपन्देही १ र रुपन्देही ३ बाट सिफारिस भएको थियो । भुसालको नाम रुपन्देही–३ बाट केन्द्रबाट सिफारिस भएर आएपनि उक्त क्षेत्रमा एमालेले राप्रपासँग तालमेल गर्ने निर्णय गरेपछि दीपक बोहोरालाई छाडिदिएको छ ।
सत्तारुढ गठबन्धनमा रुपन्देही १ नेकपा माओवादी केन्द्रको भागमा परेको छ । स्रोतका अनुसार नेकपा माओवादी केन्द्र भूसाललाई सघाउनेका लागि सकारात्मक रहेको छ ।

प्रतिक्रिया