एमालेले घनश्याम भुसाललाई पनि उम्मेदवार नबनाउने
अखबार टुडे
प्रकाशित:
२०७९, २१ आश्विन

काठमाडौं, २१ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशनमा आफूविरुद्ध लागेका नेताहरुलाई छानीछानी वाइपास गर्न थालेका छन् ।

अध्यक्ष ओलीले पार्टीको पूर्वउपमहासचिव घनश्याम भूसाललाई पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने भएपछि यस्तो देखिएको हो ।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेले तिव्ररुपमा सची तयार गर्दैछ । सो क्रममा अध्यक्ष ओलीले लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुको सूची सचिव छविलाल विश्वकर्मालाई दिएका छन् । उक्त सूचीमा भुसालको नाम नभएको एमाले स्रोतको भनाइ छ ।

यस्तै, १०औं महाधिवेशनमा ओलीविरुद्ध अध्यक्षमा लडेका भीम रावललाई पनि टिकट दिइएको छैन । उनी अछाम–१ बाट सर्वसम्ममत सिफारिस भए पनि झपट बोहोरालाई टिकट दिइएको छ ।

एमालेको १०औं महाअधिवेशनमा ओलीले घोषणा गरेको सूचीमा असहमत भूसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । त्यसयता पनि उनले अध्यक्ष ओलीमाथि प्रश्न उठाउने गरेका थिए ।

एमालेको क्षेत्रीय कमिटीले रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि भुसाल र बासुदेव घिमिरेको नाम सिफारिस भएको थियो । भुसाल स्वयं भने आफ्नो घर भएको क्षेत्र रुपन्देही १ बाट उम्मेदवार हुन चाहन्थे । तर, जिल्लाले उनको नाम पठाएन ।

यस्तै, क्षेत्र नम्बर ३ मा भूसाल र घिमिरेको नाम मात्र सिफारिस भयो । एमाले नेतृत्वले यो क्षेत्र तालमेलका लागि छुट्याएको छ । यो क्षेत्रमा एमालेले राप्रपाका वरिष्ठ नेता दीपक बोहोरालाई समर्थन गर्ने सम्भावना छ ।

राप्रपाका एक पदाधिकारीले पनि रुपन्देही ३ आफूहरुले पाउने पक्का भएको बताएका छन् । त्यसैले भुसाल उम्मेदवार बन्नबाट व्यञ्चित हुने देखिन्छ ।
एमालेले उम्मेदवार छनोट गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको छ ।

प्रतिक्रिया