डडेलधुरामा एमालेले उम्मेदवारी नदिने, देउवासँग भिड्न लागेका कर्ण को हुन् ?
अखबार टुडे
प्रकाशित:
२०७९, २१ आश्विन

काठमाडौं, २१ असोज । नेकपा एमालेले डडेलधुरामा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने निर्णय गरेको छ । यसअघि एमाले डडेलधुराले पूर्वप्रदेशमन्त्री पठानसिंह बोहोराको नाम एकल सिफारिस गरेको थियो । तर, उनलाई हटाएर नेपाली कांग्रेस (बीपी)का उम्मेदवार कर्ण मल्ललाई समर्थन गर्ने एमालेले निर्णय गरेको हो ।

योसँगै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग मल्लले प्रतिस्पर्धा गर्ने भएका छन् । मल्लले देउवालाई झण्डै २५ वर्षदेखि साथ दिँदै आएका थिए ।

नेपाली कांग्रेसबाट विद्रोह गरी कांग्रेस (बीपी)मा लागेका मल्लसँग गएको स्थानीय चुनावमा पनि एमालेले तालमेल गरेको थियो । त्यही तालमेललाई निरन्तरता दिँदै प्रतिनिधिसभामा मल्ललाई समर्थन गर्ने एमालेले निर्णय गरेको हो ।

प्रदेशसभातर्फ भने दुबै क्षेत्रमा एमालेले उम्मेदवारी दिने भएको छ । पठानसिंह बोहोरा र गजेन्द्र शाही एमालेबाट प्रदेशतर्फ उम्मेदवार हँुदैछन् । गएको स्थानीय तह निर्वाचनमा एमालेले कांग्रेस बीपीसँग तालमेल गरेको थियो । तर, तालमेल गरेपनि कुनै पनि पालिकामा जित निकाल्न सकेनन् ।

स्थानीय तहको निर्वाचनमा कांग्रेसले पाँच र माओवादी केन्द्रले दुई पालिका जितेका छन् । सदरमुकाम गमगढीमा एमालेको सहयोगमा कांग्रेस बीपीबाट उम्मेदवार बनेका हरि भट्ट १९२ मतले पराजित भएका थिए ।

देउवासँग मल्लको सम्बन्ध विग्रिएको कांग्रेसको १४औं महाधिवेशन अघिबाटै हो । त्यसबेला डडेलधुरा कांग्रेस सभापति रहेका मल्लसँग क्रियाशील सदस्यताको विवाद संस्थापन पक्षसँग चुलिएको थियो ।

मल्ल पक्षले बहिष्कार गरेको जिल्ला अधिवेशनबाट देउवा पक्षका भीमबहादुर साउद जिल्ला सभापति चुनिएका थिए । विवाद बढ्दै गएपछि मल्ललाई अनुशासनको कारबाही गरी मल्ल पार्टीबाट हटाइएका थिए ।

पार्टीले कारबाही गरेपछि मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा दिए । मल्ल कांग्रेस बीपीको उपाध्यक्षसमेत हुन् ।
डडेलधुरामा २०४८ सालदेखि लगातार प्रतिनिधिसभामा देउवा निर्वाचित हुँदै आएका छन् ।

प्रतिक्रिया