वर्षासँगै हिमपात, पर्यटक मनाङमै रोकिए
अखबार टुडे
प्रकाशित:
२०७९, २० आश्विन

मनाङ, २० असोज । मनाङमा वर्षासँगै हिमपात भएको छ । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ ।

ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार हिमपातका कारण स्थानीय घरबाहिर निस्किन सकिरहेका छैनन् । उनले बिहीबार बिहान हिउँ मात्रै परेको र त्यसपछि हिउँसँगै वर्षा भइरहेको बताए ।

हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिउँ परिरहेकाले चिसो ह्वात्तै बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले हिउँ परेपछि पर्यटक मनाङमा नै रोकिएका बताए । मनाङ गाउँमा मात्रै ६० को हाराहारीमा बाह्य पर्यटक रहेको उनको भनाइ छ ।

थोराङ्ला पास (५,४१६ मिटर) तर्फ याकखर्क, लेदर, थोराङ्ला फेदी (बेसक्याम्प), हाइक्याम्प लगायतका स्थानमा डेढ सय पर्यटक रहेको अनुमान गरिएको छ ।

तिलिचो ताल (४,९१९ मिटर) तर्फ खाङसार, श्रीखर्क, तिलिचो बेसक्याम्पलगायतका स्थानमा पनि पर्यटक छन् ।
‘हिमपात र वर्षाका कारण पहिरोको जोखिम भएकाले पर्यटकलाई जहाँ बसिरहेका छन्, सोही स्थानमा सुरक्षित रहन र यात्रा नगर्न आग्रह गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यले भने ।

नार्पाभूमि गाउँपालिकाको मेता (३,५६० मिटर) देखि माथिल्लो क्षेत्र र मनाङ ङिस्याङ गाउँपालिकाको हुम्डे (३,३०० मिटर) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको उनले बताए ।

सदरमुकाम चामेदेखि नै डाँडाकाँडामा हिमपात भएको छ। अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकको खोत्रो, धारापानी, कोत्रो र तिमाङ क्षेत्रमा बाढीपहिराले सडकमा क्षति पु¥याएको छ । सडकमा पहिरो खसेपछि बुधबारदेखि यातायात अवरूद्ध भएको छ ।

प्रतिक्रिया