द्वारिकलाललाई माओवादीमा प्रवेश गराएपछि प्रचण्डले के भने ?
अखबार टुडे
प्रकाशित:
२०७९, १६ आश्विन

काठमाडौं, १६ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादीमा प्रवेश गर्नुले राष्ट्रिय अर्थ राख्ने बताएका छन् ।

आइतबार आफ्नै निवास खुमलटारमा चौधरीलाई पार्टीमा स्वागत गर्दै उनले भने, ‘पार्टी प्रवेश त धेरै हुने गरेका छन् । तर, आजको यो पार्टी प्रवेशको विशेष वैचारिक सांगठानिक अर्थ र महत्व छ ।’ चौधरीले माओवादीमा आउने सही फैसला लिएको समेत प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले भने, ‘द्वारिक चौधरी इटहरीको बहुचर्चित मेयरको रूपमा राष्ट्रियरूपमा स्थापित हुनुहुन्छ । क्रान्तिकारी ढंगले उहाँले गर्नुभएको कामले जनतामा आकर्षण बढ्दै गएको छ ।’

क्रान्तिकारी पार्टीको खोजी गर्दै एमालेको विभिन्न जिम्मेवारीमा रहेको मान्छे माओवादीमा आउनुले राष्ट्रिय अर्थ राख्ने उनले बताए ।

‘एमालेको त्यत्रो जिम्मेवारी सम्हालेको व्यक्ति माओवादीमा प्रवेश गर्नु विशेष राष्ट्रिय अर्थ छ’ प्रचण्डले भने, ‘चुनावको मौका प्रतिगमनले पटकपटक टाउको उठाउन गरिराखेको जमर्कोलाई चोटिलो प्रहार गर्दै परिवर्तन र क्रान्तिको पक्षमा सही फैसला लिनुभएको छ । तपाईँको भूमिका दह्रो र राम्रो बनाउनेमा पूरै पार्टीको सहयोग हुन्छ ।’

प्रतिक्रिया