इन्डोनेसिया : फुटबल खेलमा भागदौड मच्चिँदा १२७ जनाको मृत्यु, दर्जनौँ घाइते
अखबार टुडे
प्रकाशित:
२०७९, १६ आश्विन

काठमाडौ., १६ असोज । इन्डोनेसियामा एक फुटबल खेलमा भागदौड मच्चिँदा कम्तीमा १२७ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस घाइते भएका छन् । शनिबार भएको खेलमा हारेका टोलीका फ्यानहरु आक्रोशित भएर मैदानमा आएपछि हिंसा भड्किएको त्यहाँको स्थानीय समाचारहरुमा जनाइएको छ ।

समाचारमा जनाइएअनुसार खेल पूर्वी जाभा प्रान्तको अरेमा एफसी र पर्सेबाया सुराबाया बिच चलिरहेको थियो । अरेमा एफसी हारेको देखेर फ्यानहरु मैदान प्रवेश गर्न थाले । भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको थियो । यस अराजकतामा स्टेडियममा भागदौड मच्चिएको थियो ।

यस्तै, समाचार एजेन्सी एएफपीका अनुसार इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुख निको अफिन्टाले आफ्नो टोलीले खेल हारेको देखेर केही मानिस फुटबल मैदानतर्फ दौडे र उनीहरूलाई रोक्न खोज्दा स्थिति अनियन्त्रित भएको बताए ।
‘रङ्गशालामा झगडा र अराजकता थियो । ३४ जनाको रंगशालामा र बाँकीको अस्पतालमा मृत्यु भएको थियो । मृत्यु हुनेमा दुई प्रहरी पनि छन् ।’ यो घटनाका धेरै भिडियोहरु सामाजिक सञ्जालमा शेयर भएका छन् ।

इन्डोनेसियाको फुटबल संघ (पिएसएसआई)ले शनिबार राति विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण विषयमा छानबिन गर्न टोली मलङ पठाइएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कान्जरुहान स्टेडियममा अरेमाका समर्थकहरूले गरेको कामप्रति खेद छ । यस घटनामा ज्यान गुमाउनेहरूका परिवार र पीडितहरूप्रति हामी क्षमाप्रार्थी छौं । पीएसआईले तत्काल छानबिन गर्न टोली बनाएर मलङ प्रस्थान गरेको छ ।’

दंगाजस्तो अवस्थालाई मध्यनजर गर्दै फुटबल लिगले एक साताका लागि खेल स्थगित गरेको हो । यस घटनामा १८० जना घाइते भएको बताइएको छ । अरेमा एफसीलाई यो सिजन प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया