लाल मोहम्मद हत्या प्रकरण : पक्राउ परेका तीन जना हतियार व्यवस्थापक
अखबार टुडे
प्रकाशित:
२०७९, १४ आश्विन

काठमाडौं, १४ असोज । काठमाडौंको गोठाटारमा लाल मोहम्मदको हत्यामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१५ भिस्वा घर भएका रेहान खान, मेहरन मियाँ र आफुलाई सुमी भनेर चिनाउने सुमित्रा छिन् । सुमित्रा यसअघि पनि लागूऔषधसम्बन्धी मुद्दामा जेल बसेको प्रहरीको भनाइ छ ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । अपराध महाशाखा प्रमुख जनक भट्टराइका अनुसार उनीहरु तीनै जनाले मोहम्मदको हत्याको लागि हतियार व्यवस्थापनमा सघाएका थिए ।

अनुसन्धानमा संलग्न प्रहरीका अुनसार मेहरन र रेहानलाई एकजना भारतीय नागरिकले वीरगञ्जमा दुई थान पेस्तोल दिएका थिए । सो पेस्तोल काठमाडौं ल्याएर ‘सुटर’ लाई दिएको पाइएको छ । काठमाडौंमै रहेकी सुमित्रा नाम गरेकी युवतीले मोहम्मदको निगरानी गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् ।

कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ २ जनाले गोली हानेर भागेका थिए ।

हत्याको योजना भारतीय नागरिक नितेन मदनले बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । प्रहरीका एकजना उच्च अधिकारीकाअनुसार भारतीय अन्डरवर्ल्ड डन बब्लु श्रीवास्तवको निर्देशनमा नितेनले हत्या योजना बनाएको खुलेको छ ।

प्रतिक्रिया