
काठमाडौं, १३ असोज (एजेन्सी) । अष्ट्रेलियाको न्यु साउथ वेल्सको तटभन्दा टाढा समुद्रमा एउटा भयानक जीव भेटिएको छ । हेर्दा शार्क जस्तै देखिएपनि कुन प्रजातिको जीव हो भन्ने केही निश्चित भइसकेको छैन ।
पूरा शरीर ढुङ्गाजस्तो, आँखा गुच्चाजस्ता गोलो र मृत, दाँत निकै भयानक र ब्लेडजस्ता धारिलो यो रहस्यमयी माछालाई देखेर वैज्ञानिक पनि चकित छन् ।
यो जीवलाई हाल ट्र्यापम्यान बरमागुई नाम दिइएको छ किनभने यहि नामका माझीले न्यु साउथ वेल्सभन्दा टाढा समुद्रमा जाल हानेर यसलाई समातेका थिए । यसलाई २१३० फिट गहिराइमा भेटिएको थियो । ट्र्यापम्यानले यसको तस्बिर फेसबुकमा सेयर गरे । त्यसपछि यो फोटो चर्चाको विषय बन्यो ।
ट्र्यापम्यानले यो कुनै कुकिकटर नभएको बताए । उनका अनुसार यसको छालाले यो इन्डेभर डगफिशको कुनै प्रजाति हो । यो एक प्रकारको गल्पर शार्क हो, जसले गहिरो समुद्रमा गोता लगाउँछ ।
तर शार्कका विशेषज्ञ यो कुरा मान्न तयार छैनन् । क्यालिफोर्निया स्टेट युनिभर्सिटीमा शार्क ल्याबका निर्देशक क्रिस्टोफर लोवेले यो काइटफिन शार्क भएको बताउँछन् । उनले यसलाई यकिनका साथ भन्न सकिने अवस्था अझ नआएको पनि बताएका छन् ।
यस्तै, फ्लोरिडा स्टेट युनिभर्सिटीका शार्क विशेषज्ञ डिन ग्रब्सले यो शार्कलाई हेरेर यो रफस्किन डगफिशजस्तो देखिएको बताए । उनका अनुसार यो एक प्रकारको स्लिपर शार्क हो जसको फ्यामिली ग्रिनल्याण्ड शार्कसँग मिल्छ ।
डिनले भने, ‘हामी लगातार समुद्रमा अचम्मका शार्कका प्रजाति खोजिरहेका छौँ । पाउँछौ पनि । न्युजिल्याण्डस्थित नेशनल इन्स्टिच्युट अफ वाटर एन्ड एटमस्फरिक रिसर्चका वैज्ञानिक ब्रिट फिनुकीले यसलाई एक गल्पर शार्क बताए ।