बाबुराम भट्टराई प्रत्यक्ष निर्वाचन नलड्ने मुडमा
अखबार टुडे
प्रकाशित:
२०७९, १३ आश्विन

काठमाडौं, १३ असोज । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा परामर्श लिन थालेका छन् ।

गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भट्टराई प्रतिनिधिसभा चुनावमा आफू विश्राम लिएर युवालाई अघि सार्ने मुडमा पुगेका हुन् ।

तर, आगामी चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा निर्णयमा पुगिसकेका छैनन् । उनले चुनावमा युवालाई अघि सारेर आफू वैचारिक क्षेत्रमा काम गर्ने बताउने गरेको भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले बताए ।

पोखरेलले भने, ‘उहाँको कुरा पूर्व प्रधानमन्त्री र ७० पुगेका वा नजिक भएका नेता चुनाव नलडौँ भन्ने हो । हामीले अभिभावकीय भूमिका निर्वाह गरौं भनिराख्नु भएको छ । त्यसैले, आफू नलडेर युवालाई अघि सार्न खोज्नु भएको छ ।’

भट्टराईले यस विषयमा पार्टीभित्र छलफल चलाएका छन् । पार्टीका कतिपय नेताहरुले उनी आफ्नो छोरी मानुषी यामी भट्टराईलाई काठमाडौंबाट टिकट दिएमा गोरखा छोड्ने मनसायमा रहेको बताउछन् ।

भट्टराई २०६४ सालदेखि निरन्तर गोरखाबाट चुनाव जित्दै आएका छन् । यो पटक पनि सत्ता गठबन्धनको सिट बाँडफाँटमा गोरखा-२ माओवादीको भागमा परिसकेको छ ।

प्रतिक्रिया