मेयर बालेन भन्छन् : फुटपाथ व्यापारीमाथि लचिलो हुँदैनौं
अखबार टुडे
प्रकाशित:
२०७९, १३ आश्विन

काठमाडौं, १३ असोज । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चाडवाडका बेला पनि काठमाडौंको फुटपाथ खाली गर्ने अभियान स्थगित नहुने बताएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै मेयर शाहले सडकमा पैदल यात्रीको पहिलो अधिकार हुने बताए ।
उनले भने, ‘सडकमा पैदलयात्रीको पहिलो अधिकार रहन्छ । यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको छ । सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने हाम्रो प्रतिवद्धता हो । यो कायम छ ।’

सहरी सरसफाइलाई पूर्ण सरसफाइसम्म पु¥याउने, सहरी सुन्दरता कायम गराउनेजस्ता विषयलाई नीतिगत व्यवस्था गरेर कार्यान्वयनका लागि कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।

महानगरको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक नीतिमा नै ‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइनेछ । फुटपाथमा मानव आवतजावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिनेछ’ भन्ने व्यवस्था गरिएको मेयर शाहले उल्लेख गरे ।

उनले भने, ‘यो नीति प्रभावकारी रूपमा कार्यान्वयन गराउन महानगरले सडक किनारा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको छ । पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्छ । अन्य समयभन्दा योबेला जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरू किनमेलका घरबाहिर निस्कने समय हो । उहाँहरूको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी हो । सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो । त्यसैले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रूपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ । यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौं ।’

प्रतिक्रिया