लुम्बिनीमा ३ वर्षसम्म थन्किएका बिजुली बस सञ्चालनमा
अखबार टुडे
प्रकाशित:
२०७९, १३ आश्विन

बुटवल, असोज १३ । लुम्बिनीमा ३ वर्षदेखि थन्किएका बिजुली बस बिहीबारदेखि सञ्चालनमा आएका छन् ।

लुम्बिनी विकास कोषले एसियाली विकास बैंकको सहयोमा प्राप्त बिजुली बस र ट्याक्सी सञ्चालनको मोडालिटी तय नगर्दा ३ वर्षसम्म बस थन्किएका थिए ।

यही असोज ११ गते विश्व पर्यटन दिवसको अवसरमा बेलहियमा भएको कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले बिजुली बस सञ्चालनमा ल्याउन प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्दिचरण भट्टराईलाई निर्देशन दिएपछि बिहीबारदेखि ५ वटा बस सञ्चालनमा आएका हुन् ।

बिजुली बस सञ्चालनको लागि मोडालिटी अहिलेसम्म तय नभएपछि चालक र सहचालक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, लुम्बिनी विकास कोष र लुम्बिनी होटल संघ नेपालले एक÷एक गाडीको जिम्मेवारी लिएर सञ्चालनमा ल्याइएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले जानकारी दिए ।

पाँचवटा बसमध्ये एउटा बस बुटवल–भैरहवा–बेलहिया–एयरपोर्ट हुँदै लुम्बिनी, दोस्रो बस बेलहिया–भैरहवा–एयरपोर्ट हँदै लुम्बिनी, तेस्रो बस नवलपरासी–रामग्राम–भैरहवा–बेलहिया एयरपोर्ट हुँदै लुम्बिनी, चौंथो बस कपिलवस्तु–तिलौराकोटबाट लुम्बिनी र पाँचौँ बस लुम्बिनी वरिपरि सञ्चालन हुने रुट तय गरिएको छ ।

चाडपर्वभरी बसहरु निःशुल्क रुपमा सञ्चालनमा आउने छन् । यी समयमा बसमा यात्रा गर्दा पैसा लाग्ने छैन । कोषले सबै विद्युतीय बस तथा भ्यानहरु भने असोज १५ गतेदेखि परीक्षण सञ्चालनमा ल्याउने छ ।

प्रतिक्रिया