एमालेमा पूर्व माओवादी समूह असन्तुष्ट, विद्रोह हुनसक्ने चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७९, १२ आश्विन

काठमाडौं, १२ असोज । नेकपा एमालेमा पूर्व माओवादी समूहका नेताहरुले बाहिरै असन्तुष्टि पोख्न थालेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि र प्रदेश सभा तर्फ समानुपातिक लिष्ट बनाउँदा आफ्नो गुटका नेताहरुसँग मात्रै छलफल गरेर लिष्ट निर्वाचन आयोगलाई पठाएपछि पूर्व माओवादी समूहका नेताहरु रुष्ट भएका हुन् ।

अध्यक्ष ओलीले पार्टीमा कुनै परामर्श नगरी खल्तीका मान्छेलाई मात्र समानुपातिकमा समेटेको उनीहरुको गुनासो छ ।

एक पूर्व माओवादी पदाधिकारीले भने, ‘केपी कमरेडले कसैलाई सोधपुछ गर्नु भएन । पार्टीका को–को नेतालाई समानुपातिकमा राख्नुभयो थाहा छैन । निर्वाचन आयोगले नाम सार्वजनिक नगर्दा सम्म थाहा नहुने भयो । अहिलेसम्म केही थाहा छैन ।’

समानुपातिक लिष्ट सार्वजनिक भएपछि पूर्व माओवादी नेताहरुलाई नसमेटेमा विद्रोह हुन सक्ने बताए । ती नेताले भने, ‘हामीले माओवादीमा हुँदा खादाको सांसद पद गुमाएर केपी कमरेडलाई समर्थन गर्यौ । प्रत्यक्षमा नसमेटेका नेतालाई समानुपातिकमा समेट्नु पर्यो । यदी नसमेटेमा पार्टीमा विद्रोह हुनसक्छ ।’ माओवादी हुँदा प्रचण्ड कमरेडले थोरै भएपनि छलफल र परामर्श गर्ने गरेको स्मरण गरे ।

राष्ट्रिय सभा सदस्य रामबहादुर थापा सहित प्रतिनिधि सभामा चार जनाले एमालेलाई समर्थन गरेका थिए । यस्तै, सातै प्रदेशबाट १४ जना प्रदेश सभा सदस्य एमाले प्रवेश गरेका थिए । ति सबैले आयोगको फाइनल लिष्ट पर्खेर बसेका छन् ।

प्रतिक्रिया