सलमान खानले भने- ‘१००० करोड रुपैयाँ पाएँ भने जीवनमा काम गर्दिनँ’
अखबार टुडे
प्रकाशित:
२०७९, १२ आश्विन

काठमाडौं, १२ असोज । भारतको चर्चित टिभी रियालिटी शो बिग बोसको १६औं सिजन चाँडै प्रशारण हुँदैछ । यस कार्यक्रमलाई अभिनेता सलमान खानले १२ वर्षदेखि होस्ट गर्दै आएका छन् ।

बिग बोस होस्ट गरेवापत सलमान खानको पारिश्रमिकबारे मिडियामा विभिन्न खाले समाचारहरु आइरहेका हुन्छन् । तर, त्यसबारे सलमानले खण्डन गरेका छन् ।

नयाँ सिजनबारे जानकारी दिन आयोजित लाइभ शो कार्यmममा उनले भने, ‘मेरो शुल्कको बारेमा सबै रिपोर्टहरू गलत छन् । यदि मैले १००० करोड रुपैयाँ पाएँ भने, म जीवनमा कहिल्यै काम गर्दिनँ । तर एक दिन त्यो समय पनि आउनेछ ।’

उनले आफूले कहिल्यै पनि यदि शुल्क पाएँ भनेर नबताएको भन्दै भने, ‘मैले यो कहिल्यै पाएँ भने पनि मेरो धेरै खर्च छ । वकिलको शुल्क पनि धेरै छ । धेरै पैसा त त्यसमा नै खर्च हुन्छ । मेरो कमाई यसको एक चौथाई पनि छैन । यो जुन आँकडा तपाईंहरुले बढाइचढाइ गर्नु हुन्छ नि, भाइ यसलाई आयकर र ईडीले पनि याद गरिरहेको हुन्छ ।’

बिग बोससँगको आफ्नो लगातार १२ वर्षको यात्रा कस्तो रह्यो भनेर सोध्दा सलमानले भने, ‘१२ वर्ष लामो समय भइसक्यो । अब म यसमा भिजिसकेको छु ।’ उनले चार महिनाको अवधिमा परिवारका सदस्यहरूसँग रहने बताउँदै भने, ‘बाटो बिराएका घरका सदस्यलाई बाटो देखाउँछु । जसमाथि दुर्व्यवहार गरिन्छ उनीहरुलाई जोगाउँछु । जुन चार महिना बित्छन्, यसमा सहभागी परिवारका सदस्य जस्तै हुन्छन् ।’

प्रतिक्रिया