मनास्लुमा मृत भेटिइन् विश्वविख्यात स्की पर्वतारोही हिलारी नेल्सन
अखबार टुडे
प्रकाशित:
२०७९, १२ आश्विन

काठमाडौं, १२ असोज । मनास्लु हिमालमा बेपत्ता भएकी विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सन मृत फेला परेकी छन् ।

गएको सोमबार बिहान उनी आफ्ना साथीसँग मनास्लुको चुचुरोमा पुगेकी थिइन् । स्की गरेर फर्किने क्रममा उनी खोंचमा खसेर हराएकी थिइन् । ४९ वर्षीया नेल्सन २ हजार फिट गहिरो खोंचमा परेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार नेल्सनको शव भेटिएको र सामागाउँ ल्याउने तयारी भइरहेको छ । सांग्रिला नेपाल ट्रेकमार्फत् नेल्सन मनास्लु आरोहणमा गएकी थिइन् । उनीसँगै स्की गर्न गएका जिम मोरिसन भने सकुशल आधार शिविरमा फर्कन सफल भएका थिए ।

नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गरेकी थिइन् । ८ हजार मिटरमाथिको दुईवटा हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उनको नाममा रहेको छ ।

अमेरिकाको सियाटलमा जन्मिएकी हिलारीलाई सन् २०१८ मा नेसनल जोग्रोफिकले साहसी खेलाडीको सूचीमा राखेको थियो । सन् २००५ मा उनले चोयु हिमालको चुचुरोबाट स्की गरेकी थिइन् । दुई दशकदेखि हिमाल आरोहणमा संलग्न नेल्सन विभिन्न १६ मुलुकमा उनले ४० वटा आरोहण गरेकी थिइन् ।

प्रतिक्रिया