बिहे भोज खाएर फर्कँदा जीप दुर्घटना : मृत्यु भएका आठै जना एउटै गाउँका
अखबार टुडे
प्रकाशित:
२०७९, १२ आश्विन

दाङ, १२ असोज । सल्यानको कपुरकोटमा जीप दुर्घटनामा मृत्यु हुने ८ जनाकै खनाखत भएको छ । उनीहरु एउटै गाउँका भएको पनि पुष्टि भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा कपुरकोट गाउँपालिका–६ जलबाँङका २१ वर्षीय चालक जीतबहादुर बोहोरा, ३७ वर्षीय धर्मा वली, ४० वर्षीय टोपबहादुर ओली, ११ वर्षीय बसन्त वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र ३५ वर्षीय ललित वली रहेका छन् ।

उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए ।
बाँकेको ढकेरीबाट बिहेको भोज खाएर फर्कंदै गर्दा रा१ज ५६३ नम्बरको जीप सल्यान कपुरकोट–३ मुलपानीमा बिहान ३ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा सख्त घाइते भएका कपुरकोट गाउँपालिका–६ जलबाँङका ३५ वर्षीय तिलक वलीको दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । जीप १५० मिटर तल खसेको थियो । जीपमा ९ जना सवार थिए ।

प्रतिक्रिया