
काठमाडौं, ११ असोज । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की मंगलबारदेखि कामु प्रधानन्यायाधीश बनेका छन् ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि मंगलबार भारत गएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बनेका हुन् ।
आगामी असोज १५ गतेपछि ६५ वर्षे उमेर हदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि कामु प्रधानन्यायाधीशको हैसियतमा न्यायालयको बागडोर हरिकृष्ण कार्कीले सम्हाल्नेछन् ।
संविधानतः प्रधानन्यायाधीशले देश पार गरेपछि स्वतः वरिष्ठतम् न्यायाधीश प्रधानन्यायाधीश बन्ने व्यवस्था छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि गत फागुन १ गते संसदमा महाभियोगको प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको नेतृत्वमा चलिरहेको छ ।
महाभियोगको टुङ्गो नलागेकै कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा छन् । निलम्बित प्रधानन्यायाधीश जबरा पनि ६५ वर्षे उमेर हदका कारण आगामी मंसिर २७ गते अनिवार्य अवकाशमा जाँदैछन् ।