डलरको मूल्य हालसम्मकै उच्च, कमजोर बन्यो नेपाली रुपैयाँ
अखबार टुडे
प्रकाशित:
२०७९, ११ आश्विन

काठमाडौं, ११ असोज । डलरको मूल्य लगातार महँगिदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर बनेको छ ।

गत शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य आइतबार बढेर एक अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १२९ रुपैयाँ ८९ पैसा पुगेको थियो । यस्तै खरिद मूल्य १२९ रुपैयाँ २९ पैसा रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अुनसार मंगलबार एक अमेरिकी डलरको विनिमय दर (बिक्रीदर) १३०.९० रुपैयाँ तोकिएको छ । यस्तै एक डलरको खरिद दर १३० रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ, जुन डलरको विनिमय दर हालसम्मकै उच्च हो ।

आज युरोपियन युरो एकको खरिदमा भने १२५ रुपैयाँ ७४ पैसा र बिक्रीमा १२६ रुपैयाँ ३२ पैसा पाइन्छ । त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले कुवेती दिनार एकको खरिदमा ४१९ रुपैयाँ ५६ पैसा र बिक्रीमा ४२१ रुपैयाँ ५० पैसा तोकेको छ । आज बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३४७ रुपैयाँ १९ पैसा तोकिएको छ ।

यसअघि ५ साउन २०७९ मा १ अमेरिकी डलरको बिक्री मूल्य १२८ रुपैयाँ २९ पैसा र खरिद मूल्य १२७ रुपैयाँ ६९ पैसासम्म पुगेको थियो । १८ साउनमा एक अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १२६ रुपैयाँ २५ पैसा र खरिद मूल्य १२५ रुपैयाँ ६५ पैसासम्म झरेको थियो । त्यसपछि पुनः बढ्न लागेको डलरको मूल्यले आइतबार नयाँ उचाइ कायम गरेको थियो ।

पछिल्लो पटक अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) ले ब्याजदर बढाएसँगै डलरको मूल्य महँगिएको हो । भारतीय मुद्रा लगातार कमजोर बन्दै जाँदा भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरको कारण पनि नेपाली मुद्रा कमजोर बन्दै गएको छ ।

अगामी दिनेमा फेडले ब्याजदर थप बढाउने प्रक्षेपण भइरहँदा डलर बलियो बनेको अर्थशास्त्रीहरु बताउँछन् । फेडले ब्याजदर बढाउँदा भारत सहित विश्वभरी रहेको अमेरिकी लगानी (पोर्टफोलियो) अमेरिका फिर्ता हुँदा डलर झनै बलियो बन्दै गएको छ ।

मुद्रास्फीति नियन्त्रण गर्न विश्वभरका केन्द्रीय बैंकले ब्याजदर वृद्धि गरिरहेका छन् । सोहीबीच अमेरिकी केन्द्रीय बैंकले पनि ब्याजदर बढाउँदा डलर थप बलियो बनेको हो ।

प्रतिक्रिया