सन्दीप लामिछानेविरूद्ध इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी
अखबार टुडे
प्रकाशित:
२०७९, १० आश्विन

काठमाडौं, १० असोज । नाबालिगमाथि बलात्कारको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेविरूद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ ।

सन्दीप लामिछानेविरूद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राई पुष्टि गरेका छन् । उनका अनुसार इन्टरपोलमा ‘डिफ्युजन नोटिस’ जारी गरेको दुई दिन भएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दिप लामिछानेमाथि ५ भदौमा काठमाडौंको एक होटलमा १७ वर्षीया नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको छ ।

तर, उनी भदौ ६ गते टी–२० खेल खेल्न केन्या गएका थिए । उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए । उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा २१ भदौमा एक नाबालिगले उनीविरूद्ध जाहेरी दिएप्छि उनलाई पक्राउ पुर्जी जारी गरिएको थियो ।

सन्दिपविरूद्ध जाहेरी परेपछि क्यानले उनलाई सम्पर्क गरेको थियो । क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लसँगको कुराकानीमा सन्दीपले आफू निर्दोष रहेको र आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । उनले आफू निर्दोष रहेको र आफूविरूद्ध परेको उजुरीको सामना गर्न नेपाल आउने बताएका थिए । तर, अझै उनी सम्पर्कमा नआएपछि प्रहरीले इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी गरेको जनाएको छ ।

सन्दीपलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै क्यानले राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो ।

प्रतिक्रिया