चितवनको नयाँ घरमा सरे प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७९, १० आश्विन

चितवन, १० असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नयाँ घरमा सरेका छन् । भरतपुर महानगरपालिका–१४ स्थित शिवनगरमा रहेको दाहाल टोलमा बनेको एकतले घरमा दाहाल आज सरेका हुन् ।

प्रचण्डसहित उनको पत्नी सीता दाहाल नयाँ घरमा सरेका छन् । करिब १० कट्ठा जमिनको बिचमा बनाइएको सो घर माघ महिनाबाट बनाउन सुरु गरिएको थियो ।

करिब १० कट्ठा जमिनको मध्यभागमा उक्त घर बनेको छ । उक्त जमिन प्रचण्डको पैतृक सम्पत्ति हो ।

बाबु मुक्तिराम दाहालले २०४८ सालतिर यहाँको रहेको केही जमिन बिक्री गरेपछि करिब ६ कट्ठा मात्रै बाँकी रहेको थियो । २०७४ को चुनावमा भरतपुर महानगरपालिका वडा नं.१४ शिवनगरमा घर भाडामा लिएर केही महिना बसेका दाहालले त्यही वडामा घर बनाएका छन् ।

प्रतिनिधि सभाको चुनाव नजिकिँदै गर्दा प्रचण्ड आफ्नै घरमा सरेका हुन् । घर बनेको ठाउँ प्रचण्डको निर्वाचन क्षेत्रमै पर्छ ।

काठमाडौंमा भने प्रचण्ड भाडाको घरमा बस्छन् । ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा उनी भाडामा बस्ने गरेका छन् ।

प्रतिक्रिया