सूचना आयोगद्वारा उम्मेदवारले बुझाएको मनोनयन पत्र सार्वजनिक गर्न आग्रह
अखबार टुडे
प्रकाशित:
२०७९, ९ आश्विन

काठमाडौं, ९ असोज । राष्ट्रिय सूचना आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुने उम्मेदवारले बुझाएको मनोनयन पत्र सार्वजनिक गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

सूचना आयोगले आइतबार पत्रकार सम्मेलन गरी निर्वाचनका लागि उम्मेदवारले पेश गर्ने मनोनयन पत्र तथा संलग्न कागजातहरू सर्वसाधारण मतदाताले समेत जानकारी पाउनेगरी सार्वजनिक गर्न आग्रह गरेको हो ।

आयोगकी सूचना आयुक्त कमला वलीले पत्रकार सम्मेलनमा बोल्दै मनोनयन पत्रका साथै निर्वाचन सकिएपछि उम्मेदवारले पेश गरेको निर्वाचन खर्चको विवरण पनि सार्वजनिक गर्न अनुरोध गरेकी छन् ।

‘उम्मेदवारले बुझाएको विवरण सबै सर्वसाधारणले पनि थाहा पाउनुपर्ने हुन्छ । कुन उम्मेदवारले कति सम्पत्ति विवरण बुझाए, उनीहरुले चुनावमा कति खर्च गरेछन्, सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छौं’ वलीले भनिन् ।

प्रतिनिधिसभा र प्रदेश भाको निर्वाचनलाई निष्पक्ष, स्वच्छ, पारदर्शी र जिम्मेवार बनाउन तथा मतदाताले अधिकतम जानकारी पाउने वातावरण बनाउनका लागि सो सुझाव दिइएको उनको भनाइ छ ।

यस्तै राष्ट्रिय सूचना आयोगले यही असोज १३ गते सूचनाको सर्वव्यापी पहुँच सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका दिन विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग मिलेर काठमाडौंमा कार्यक्रम गर्ने भएको छ ।

प्रतिक्रिया