
काठमाडौं, ९ असोज । रुसले आफूले नियन्त्रण लिएका युक्रेनी भूभागमा जनमत संकलन गरिरहेको छ । रुसी स्वघोषित उक्त कदमको पश्चिमा देशहरुले ‘अमान्य’ हुने बताइरहेका छन् ।
यसैबेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धका लागि जगेडा सैनिकलाई बोलाउने निर्णय गरेपछि त्यहाँ देशभर विरोध प्रदर्शन भइरहेको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार जारी प्रदर्शनमा सयौँ मानिसहरूलाई पक्राउ गरिएको छ ।
बीबीसीले जनाएअनुसार स्वतन्त्र मानव अधिकार संस्था ओभीडी–इन्फोले ७२४ जना मानिसहरूलाई शनिवार रुसका ३२ भिन्न भिन्न सहरबाट पक्राउ गरिएको छ ।
राष्ट्रपति पुटिनले युक्रेनमा लड्नका लागि तीन लाखको सैनिक परिचालन गर्ने घोषणा गरेसँगै देशव्यापी प्रदर्शनहरू भएका छन् । पूर्वस्वीकृतिबिना ¥यालीहरू रुसी कानुनअन्तर्गत प्रतिबन्धित छन् । तर, नागरिकलाई सेनामा भर्ती गर्ने पुटिनको कदमले सहरी क्षेत्रमा ठूला प्रदर्शनहरू निम्त्याएको समाचारहरुमा उल्लेख छ ।
गत साताको सुरुमा मात्र त्यहाँ १ हजारभन्दा धेरै मानिसहरू पक्राउ परेका थिए । समाचार संस्था एएफपीका अनुसार मस्कोमा एक प्रदर्शनकारी पक्राउ पर्दै गर्दा ‘हामी तोपको चारा होइनौँ’ भन्दै चिच्याएको देखिएको थियो ।
रुसको दोस्रो सहर सेन्ट पिटर्सबर्गमा एक व्यक्तिले पत्रकारहरूलाई ‘म पुटिनका लागि युद्धमा जान चाहन्न’ भनेको समाचारमा जनाइएको छ ।
७० वर्षीय नताल्या दुबोभाले एएफपीसँग आफू युद्धको विपक्षमा उभिएको बताएकी छन् । उनले लडाइँमा पठाउने आदेशले ‘युवाहरू चिन्तित बनेको’ बताएकी छन् ।
शनिवार पक्राउ परेका केहीलाई भर्तीको पत्र थमाइएको र सुरक्षा नियन्त्रणमै रहेका बेला उनीहरूलाई भर्ती केन्द्रहरूमा जान भनिएको समाचारहरुमा बताइएको छ ।
क्रेमलिनले गत साताको सुरुमा यस अभ्यासको प्रतिरक्षा गर्दै ‘त्यो कानुनविपरीत नभएको’ जनाएको थियो । मस्कोले भर्तीपछि जिम्मेवारी पालन नगरेको आरोप लाग्नेहरूमाथि कठोर सजायको व्यवस्थासमेत स्वीकृत गरेको छ ।
बीबीसीले जनाएअनुसार शनिबार पुटिनले हस्ताक्षर गरेको आदेशमा आत्मसमर्पण गर्ने, जिम्मेवारी छाड्ने वा लड्न अस्वीकार गरेको पाइएका मानिसहरूलाई १० वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ ।
