उम्मेदवार नपाउने भएपछि धनकुटामा माओवादी नेताले दिए सामूहिक राजीनामा
अखबार टुडे
प्रकाशित:
२०७९, ९ आश्विन

धनकुटा, ९ असोज । धनकुटामा नेकपा माओवादी केन्द्र नेताहरुले सामूहिक राजीनामा दिएका छन् । प्रतिनिधिसभाको उम्मेदवार माओवादी केन्द्रले पाउनुपर्ने दावी गर्दै आएका उनीहरुले सामूहिक राजीनामा घोषणा गरेका हुन् ।

माओवादी केन्द्र धनकुटाका जिल्ला संयोजक डिल्लीराम राईले आइतबार विज्ञप्ति जारी गर्दैै जिल्लाबाट प्रतिनिधित्व गर्ने पोलिट्ब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सदस्यहरुले सामूहिक राजीनामा दिएको जानकारी दिएका हुन् ।

यसअघि धनकुटाका नेता माओवादीका पोलिट्ब्यूरो सदस्य हेमराज भण्डारीले प्रतिनिधिसभाको उम्मेदवारी घोषणा गरेका थिए । तर, सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट नटुंगिएकाले भण्डारीको उम्मेदवारी अनिश्चित बनेको छ । उनले आफूले १० दिनअघि नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएको बताएका छन् ।

जिल्लाका नेताहरुले भण्डारीलाई प्रतिनिधिसभाको स्वतन्त्र उम्मेदवारको रुपमा अघि सारेका छन् । धनकुटामा नेपाली कांग्रेसका नेता सुनिल थापाको समेत दाबी रहेकाले सत्तारुढ गठबन्धनमा उम्मेदवार छनोट पेचिलो बनेको छ ।

प्रतिक्रिया