विकासको नाममा पुराना घर भत्काउनु हुँदैन: पर्यटनमन्त्री
अखबार टुडे
प्रकाशित:
२०७९, ९ आश्विन


काठमाडौं, असोज ९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं जस्तो सांस्कृतिक सहरमा विकासको नाममा संरचना भत्काउने काम गर्न नहुने बताएका छन् ।

आइतबार विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण कार्यको थालनी एवं हनुमान ढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्यधिक महत्वपूर्ण रहेकाले बाटो फराकिलो गर्ने नाममा घर भत्काउन नहुने बताएका हुन् ।

उनले भने, ‘सहरका पहिलाका घरहरु जस्ता छन् त्यस्तै राख्नुपर्छ । साँघुरो बाटो छ भनेर फराकिलो गर्ने नाममा घर भत्काउने, यसलाई मास्ने कामहरु गर्नुहुँदैन । हिजो जुन खालको यो सहरको बनावट छ, त्यसको अवस्था छ, त्यसको अवस्थालाई संरक्षण र कायम गर्नुपर्छ । त्यसरी नै हामीले यसलाई विश्वमा चिनाउन सक्छौँ ।’

पहिलेका भौतिक संरचनाहरुको संरक्षण गर्नसके मात्रै सम्पदाको महत्व रहने भन्दै उनले काठमाडौंलाई पर्यटकीय नगरी बनाउनुपर्ने धारणा राखे ।
मन्त्री श्रेष्ठले अहिलेको समाजले आधुनिकताको नाममा पुराना संस्कृतिलाई भुल्दै जान थालेको बताए ।

उनले भेन, ‘अहिले हामी बिस्तारै आधुनिकताको नामबाट हिजोका हाम्रा संस्कृतिहरुलाई भुल्दै गएका छौँ । नयाँ घर निर्माण गर्दा आधुनिक शैली अपनायौँ । जसले गर्दा हिजोको पहिचान मेटिँदै छ । हाम्रो उद्देश्य भनेको यसलाई पुरानै शैलीमा लैजानु हो । हिजोका सम्पदाका शैलीलाई त्यही रुपमा स्थापना गर्ने हाम्रो उद्देश्य छ ।’

मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई दिगो बनाउन मन्त्रालयले पर्यटन दशक घोषणा गरेको र अब क्रमशः देशको पर्यटनको काममा मन्त्रालय लागिपर्ने प्रतिवद्धता जनाए । उनले पर्यटनबाट नै देशमा रोजगारी र आर्थिकोपार्जन हुने भन्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया