आजदेखि उपत्यकाबाट बाहिरिने सवारी साधनले अनिवार्य यान्त्रिक परीक्षण गराउनुपर्ने
अखबार टुडे
प्रकाशित:
२०७९, ९ आश्विन

काठमाडौं, ९ असोज । आज आइतबारदेखि उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनले अनिवार्य यान्त्रिक परीक्षण गराउनुपर्ने भएको छ । दशैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको गृह मन्त्रालयले जनाएको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार रुट परमिट लिने बेला यान्त्रिक परीक्षण अनिवार्य गरिएको छ । यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित सवारी साधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुको समन्वयमा हुने उनले बताए ।

यान्त्रिक परीक्षणविना सवारी साधन चलाउन नपाइने भन्दै उनले भने, ‘यो नियम सबै प्रकारका सार्वजनिक सवारी साधन र भाडामा प्रयोग गरिएका निजी गाडीहरुमा आजैदेखि लागू हुने छ ।’ काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य–मुख्य नाकामा सवारी साधनहरुको चेक जाँचको व्यवस्था मिलाइएको छ ।

यस्तै, यात्रुको बिमा गरिएको हुनुपर्ने, लामो दुरीका सवारी साधनमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर यात्रुले देख्नेगरी राख्नुपर्ने, टाइमकार्ड पालना गर्नुपर्ने र गाडीमा झुण्डिएर र छतमा बसेर यात्रा गर्न नपाइने व्यवस्था मिलाइएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया