प्रचण्डले भने- म र बाबुराम एकअर्काका पूरक हौँ
अखबार टुडे
प्रकाशित:
२०७९, ८ आश्विन

काठमाडौं, ८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईसँग मिलेर नेपालमा समाजवाद स्थापनाका लागि नयाँ ‘जनयुद्ध’ गर्ने बताएका छन् ।

दुई पार्टी चुनावका लागिमात्र नभएर समाजवादको नयाँ मोडल दिनका लागि एकैठाउँ उभिएको उनको भनाइ । अध्यक्ष प्रचण्डले भने, ‘यो मोडल २१ शताब्दीको समाजवादको मोडल हुनेछ ।’

शनिबार काठमाडौंमा नेपाल समाजवादी पार्टीद्वारा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केही महिनादेखि बाबुरामजी र म निरन्तर छलफलमा थियौँ । नेपालमा फेरि युगलाई सन्देश दिने गरी समाजवादको नयाँ क्रान्तिको आधारशिला खडा गर्न सक्छौँ कि सक्दैनौँ भनेर हामीले छलफल गर्यौं । र, समाजवादका लागि नयाँ जनयुद्ध गर्ने संकल्प गरेपछि एक ठाउँमा केन्द्रित हुने निर्णय गरेका हौँ ।’

उनले आफू र बाबुराम एक अर्काका पूरक भएको पनि बताए । ‘हामी परिवर्तनका वाहक हौँ । अब हामीहरू समाजवादको नयाँ मोडल दिन्छौँ’ उनले भने ।

संविधानको घोषणापछि आफू र बाबुराम भट्टराईले एमालेसँग एकता र नयाँ शक्तिको स्थापना गर्ने दुश्साहासिक प्रयोग गरेको भन्दै ती दुवै प्रयोग असफल भएको उनको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले भने, ‘यी प्रयोग गर्दा हाम्रो उद्देश्य जतिसुकै राम्रो र ठुलो भए पनि सफल हुन सकेन । हामी अलग–अलग प्रयोग गर्न हिँड्दा माओवादी जनयुद्ध, त्यसको ऐतिहासिक भूमिका, त्यसले स्थापित गरेका मूल्य मान्यताहरू, त्यसले ल्याएका परिवर्तनहरू धरापमा पर्ने खतरा देखापर्यो । प्रतिक्रियावादी, बर्जुवाहरुले माओवादी आन्दोलनका नेता–कार्यकर्तालाई अपमानित गर्ने र यसका उपलब्धिहरू उल्ट्याउन अनेक खालाका कसरतहरू गर्ने बीचमा देखा परे ।’

प्रचण्ड–बाबुराम दुईवटा नाम भएरमात्र परिवर्तन आएको नभइ नेपाली जनताले ठुलो बलिदान र त्यागबाट पैदा गरेका नाम भएको उनको भनाइ छ ।

प्रतिक्रिया