युक्रेनी भूभागमा रुसको जनमतसंग्रह : एउटा यस्तो प्रश्न- ‘यो क्षेत्र युक्रेनबाट छुट्टिँदै रुसमा गाभिने कुरामा समर्थन छ ?’
अखबार टुडे
प्रकाशित:
२०७९, ८ आश्विन

काठमाडौं, ८ असोज । रुसले आफ्नो नियन्त्रणमा लिएका युक्रेनी भूभागमा स्वघोषित जनमत सुरु गरेको गरेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार ‘जनमतसंग्रह’का लागि मत संकलन गर्न सशस्त्र सैनिकहरू घरघरमा जान थालेको छन् ।

बीबीसीले उल्लेख गरेअनुसार ‘तपाईँले मुखैले उत्तर दिनुपर्छ र सैनिकहरूले त्यसलाई पानामा चिन्न लगाएर राख्छन्’ एनर्होदरबाट एक महिलाले बताएकी छन् । दक्षिणी खेअर्सनमा रुसी सुरक्षाकर्मीले मतपेटिका लिएर सहरको मध्यभागमा मत संकलन गरिरहेका छन् ।

रुसी सरकारी सञ्चारमाध्यमहरूका अनुसार घरदैलो मतदान ‘सुरक्षा’का कारण गरिएको हो । ‘व्यक्तिगत मतदान खासगरी सेप्टेम्बर २७ मा हुनेछ’ रुसी समाचारसंस्था तासले जनाएको छ । ‘अन्य दिनहरूमा समुदाय र घरदैलो कार्यक्रमका रूपमा मतदान सञ्चालन हुनेछ’ बीबीसीले तासलाई उदृत गर्दै जनाएको छ ।

मेलिटोपोलमा रहेकी एक महिलाले बीबीसीलाई बताएअनुसार दुई रुसी सैनिकसँग आएर दुई स्थानीय सहयोगीहरूले उनका अभिभावकलाई उनीहरूको घरमा आएर मतपत्र दिएर हस्ताक्षर गर्न भनेका थिए । ती महिलाले बीबीसीसँग भनेका छन्, ‘मेरो बुवाले रुसमा गाभिने हुन्न भन्नुभयो ।’ ती महिलाका अनुसार प्रत्येक व्यक्तिका लागि छुट्टाछुट्टै नभईकन पूरै घरधुरीका लागि एउटा मतपत्र राखिएको छ ।

मतदान गराउन सशस्त्र सैनिक परिचालन गरिनुले चुनाव स्वतन्त्र र निष्पक्ष हुने भन्ने मस्कोको दाबीमा विरोधाभास भएको छ ।
पाँच दिनका लागि तय गरिएको स्वघोषित जनमतसंग्रहले रुसलाई अवैधानिक तरिकाले चारवटा अधीनस्थ क्षेत्र वा केही भाग नियन्त्रणमा रहेका युक्रेनी भूभागलाई आफ्नो दाबी गर्ने बाटो दिने बताइएको छ ।

यसरी ‘गाभ्ने काम’ले अन्तर्राष्ट्रिय मान्यता भने पाउनेछैन । तर, त्यसले गर्दा रुसले आफ्नो भूभागमा पश्चिमा देशहरूले युक्रेनलाई दिएका अस्त्र प्रयोग गरेर आक्रमण भएको दाबी गर्ने अवस्था सिर्जना हुनसक्छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले ती जनमतसंग्रहलाई ‘छद्म’को संज्ञा दिँदै जबरजस्ती केही युक्रेनी भूभाग गाभ्नका लागि ‘मिथ्या बहाना’ प्रस्तुत गरिएको बताएको बीबीसीले उल्लेख गरेको छ । ‘अमेरिकाले युक्रेनी भूभागलाई युक्रेनी हिस्साबाहेक अन्य केही रूपमा मान्यता दिनेछैन’ उनको भनाइ छ ।

ब्रिटिश विदेशमन्त्री जेम्स क्लेभर्लीले ‘यो छद्म जनमतसंग्रहमा नक्कली मतदानको संख्या र त्यसको स्वीकृत दरका लागि रुसी अधिकारीहरूले लक्ष्यहरू तोकिसकेको प्रमाण यूकेसँग भएको बताएका छन् ।

बीबीसीका अनुसार क्लेभर्लीले रुसले चारवटा क्षेत्रहरू (लुहान्स्क, डोनेट्स्क, खेअर्सन र जापोरीजा)लाई यस महिनाको अन्त्यसम्ममा रुसमा गाभ्ने कामलाई औपचारिकता दिने योजना बनाएको बताए ।

जनमतसंगहमा ‘स्वघोषित तथा अन्तर्राष्ट्रिय मान्यता नपाएका लुहान्स्क र डोनेट्स्क जनगणराज्यहरूमा मानिसलाई रुससँग गाभिने कुरामा समर्थन छ कि छैन ? भनेर सोधिएको बताएको छ । बीबीसीका अनुसार लुहान्स्क र डोनेट्स्कमा मतपत्र रुसी भाषामा मात्र छापिएको छ । त्यसमा सोधिएको प्रश्न यस्तो छ– के यो क्षेत्र युक्रेनबाट छुट्टिँदै स्वतन्त्र राष्ट्र बनेर अन्ततः रुसमा गाभिने कुरामा समर्थन छ ?

प्रतिक्रिया