प्रचण्ड सकियोस् भनेर रातदिन धुप हालिरहेका छन्: प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७९, ७ आश्विन

काठमाडौं, ७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि परिवर्नत पक्षधर र विरोधीबीच पेचिलो संघर्ष चलिरहेको बताएका छन् ।

शुक्रबार पार्टीनिकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पछिल्लोपटक टीआरसी विधेयक असफल पार्ने कसरत र नागरिकता विधेयक प्रमाणीकरण नगर्नु त्यसैको उदाहरण भएको बताए ।

उनले भने, ‘गत सालदेखिको प्रतिगमको षड्यन्त्र नयाँनयाँ रूपमा फेरि अगाडि ल्याउने जमर्को भइरहेको छ । हामीले एकता गुमायौँ । कुनै दिनमा प्रतिगमन हुने अझै खतरा छ । संविधानको पालक र संरक्षकबाट जानीबुझी संविधान खुलेआम मिच्ने काम भएको छ । यो सामान्य होइन ।’

उनले हजारौंको बलिदानबाट प्राप्त उपलब्धि खोस्ने र अपहरणको षड्यन्त्र भइरहेको बताउँदै भने, ‘यसलाई रोक्न अरु कसैले सक्दैन । अहिले पनि किसान, सुकुम्बासी, जनतालाई अगाडि बढाएर शिक्षित गर्दै आन्दोलित गरेर त्यसलाई परास्त गर्न सकिन्छ ।’

अध्यक्ष प्रचण्डले प्रतिगमन शक्तिहरू सबै एक भएर आफूमाथि निरन्तर प्रहार भइरहेको समेत बताए ।

‘माओवादीविरुद्ध सामाजिक सञ्जालमा भ्रम छर्ने काम प्रष्ट देखिरहेको छ । एकथरि मान्छे प्रचण्ड सकियोस् भनेर रातदिन धुप हालिरहेका छन्’ उनले भने, ‘जसले परिवर्तनको नेतृत्व ग¥यो, त्यसैमाथि किन प्रहार भइरहेको छ ? काल्पनिक र कपोकल्पित आरोप लगाइन्छ ।’

ठूलो सपना बोकेर कम्युनिष्ट पार्टीलाई एकताबद्ध गरेर लगेपनि त्यसलाई बचाउन नसकिएको उनको भनाइ छ ।

प्रतिक्रिया