सेना परिचालनको घोषणापछि रुसीहरू देश छाड्दै
अखबार टुडे
प्रकाशित:
२०७९, ७ आश्विन

काठमाडौं, ७ असोज । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक सेना परिचालनको घोषण गरेपछि देश छाड्नेहरुको संख्या बढिरहेको समाचारहरुमा बताइएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार ‘देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै’ आंशिक रूपमा सेना परिचालन गर्ने घोषणा गरेका थिए । उक्त निर्णयसँगै थप तीन लाख जना मानिसले युद्धमा सामेल हुनुपर्ने देखिएको छ ।

राष्ट्रपति पुटिनको यो घोषणासँगै आरक्षित सैनिकहरू देशबाट भागिरहेका छन् । रूसका अधिकांश सहरहरूमा एयरपोर्ट, बस र रेलवे स्टेशनहरूमा देश छोड्ने आरक्षित सैनिकहरूको संख्या बढिरहेको बीबीसीले जनाएको छ । शीर्ष कमाण्डरहरू पनि आरक्षित सेनाको तैनाथीमा विभाजित छन् ।

‘युद्ध गलत छ, हामी जाँदैनौं’ भन्दै प्रदर्शनमा उत्रिएका आरक्षित सैनिकहरूले आफूहरूलाई वधशालामा पठाए पनि युक्रेनी मोर्चामा नजाने घोषणा गरेका छन् ।

पुटिनले मंगलबार नै संसदबाट पारित गरेको विधेयकमा मोर्चामा जान इन्कार गर्नेलाई जेल सजायको व्यवस्था छ । सरकारले यसअघि इन्टरेनटमार्फत विरोध गर्न आह्वान गर्ने वा भाग लिनेलाई १५ वर्षसम्म सजायँ हुने चेतावनी दिएको थियो ।

मस्को, सेन्ट पिटर्सबर्गलगायत १० सहरमा प्रदर्शन जारी छ । अधिकांश सहरमा प्रहरीले प्रदर्शनकारीमाथि लाठी प्रहार गर्नुका साथै हवाई फायरसमेत गरेका छन् । तीन हजारभन्दा बढी पक्राउ परेका छन् ।

सरकारी चेतावनीसँगै रूस छोड्नेहरूको संख्या बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अधिकांशले नागरिक मुलुक छोडेका छन्। यसका लागि फ्लाइट बुकिङ गर्नेहरुको संख्या ह्वात्तै बढेको बीबीसीले जनाएको छ । यस्तै आफ्नो सीमा पार गर्न खोज्नेको पाँच किलोमिटरसम्म लामो लाइन देखिएको छ ।

यसैबीच जर्मनीका एक मन्त्रीले रुसबाट पलायन भएकाहरुलाई शरण दिने बताएका छन् । बीबीसीका अनुसार गम्भीर दमनको खतरामा परेका रूसी जनताले शरण मागेमा अन्तर्राष्ट्रिय नियम अनुसार उनीहरूले जर्मनीमा सुरक्षा पाउने छन् ।

प्रतिक्रिया