बेलायतले भन्यो- दक्ष नर्सलाई रोजगारी, पाँच वर्षमा अनिवार्य फर्कनुपर्ने
अखबार टुडे
प्रकाशित:
२०७९, ६ आश्विन

काठमाडौं, ६ असोज । बेलायतले दक्ष नेपाली नर्सलाई मात्र रोजगारीको अवसर दिने बताएको छ ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले दक्ष नर्सहरुलाई उचित सेवा सुविधासहित स्वास्थ्य क्षेत्रमा रोजगारीको अवसर दिने बताएकी हुुन् ।

नेपाल र बेलायत सरकारबीच नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारी दिने सम्झौताअनुसार नै दुई वर्ष अनुभव भएका दक्ष नर्सलाइ रोजगारी दिने बताइएको हो ।

कार्यक्रममा उनले भनिन्, ‘बेलायत सरकारको अपेक्षा भनेको दक्ष स्वास्थ्यकर्मीले स्वास्थ्य क्षेत्रमा काम गरुन् भन्ने हो । नेपाली नर्सहरुको चाहना पनि बेलायत गएर काम गर्ने रहेको मैले पाएकी छु ।’

नेपाली नर्सहरुले बेलायतमा काम गर्दा बेलायतको स्वास्थ्य क्षेत्रलाई निकै लाभ पुग्ने पनि राजदूत पोलिटको भनाइ छ ।
यस्तै राजदूत पोलिटले बेलायत काम गरेर फर्केका नेपाली नर्सले स्वदेशमा फर्केर नेपालको स्वास्थ्य क्षेत्रमा दक्षता प्रयोग गर्न सक्ने बताइन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसालले बेलायतको स्वास्थ्य क्षेत्रमा जान दुई वर्षको अनुभव हुनुपर्ने बताए । त्यहाँ जाने नेपाली नर्सहरूले कुनै प्रकारको शुल्क तिर्नु नपर्ने पनि उनले बताए । तर, सम्झौताअनुसार पाँच वर्षपछि अनिवार्य फर्कनुपर्ने उनको भनाइ छ ।

नेपाल र बेलायत सरकारबीच भएको सम्झौताअनुसार बेलायतमा जाने नेपाली नर्सले मासिक चार लाख रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने उल्लेख छ । जसले गर्दा पनि बेलायत रोजगारीमा चासो बढेको छ ।

मन्त्रालयका अनुसार बेलायतको ‘नर्सिङ एन्ड मिडवाइफरी काउन्सिल (एनएचएस)मा दर्ता भएपछिमात्रै बेलायतको कानुनअनुसार उक्त तलब सुविधा नेपाली नर्सले पाउनेछन् ।
बेलायत रोजगारीका लागि भर्ना प्रकृयामा नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका २० देखि ४५ वर्ष उमेरका नर्सहरु सहभागी हुन पाउँछन् । स्टाफ नर्स, बिएन, बिएससी नर्सिङ, एमएन सहभागी हुन पाउने बताइएको छ ।

प्रतिक्रिया