सेना परिचालन गर्न पुटिको आदेशपछि रुसमा प्रदर्शन, ११ सय बढी पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, ६ आश्विन

काठमाडौं, असोज ६ । रुसमा युद्धको विरोध गर्दै प्रदर्शनमा उत्रिएका ११ सय बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

युक्रेनविरूद्ध लड्न जगेडामा रहेका हजारौं सैनिकलाई बोलाउने क्रेमलिनको निर्णयको विरोध गर्दै ११ सय भन्दा बढी प्रदर्शनमा उत्रिएका थिए ।

बीबीसीका अनुसार रूसी मानवअधिकार समूह ओभीडी–इन्फोले युद्धको विरोध गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

पक्राउ पर्नेमा सेन्ट पिटर्सबर्ग र मस्कोका सबैभन्दा धेरै छन् । इर्कुत्स्क र अन्य साइबेरियन सहरहरू तथा येकातेरिनबर्गमा पनि प्रदर्शनहरू भएका थिए ।

मस्को अभियोजनकर्ता कार्यालयले बुधबार अनधिकृत सडक आन्दोलनमा सामेल हुन इन्टरनेटमा आह्वान गर्ने वा त्यसमा सहभागी हुने सबैलाई १५ वर्षसम्म जेल सजाय हुनसक्ने चेतावनी दिएको छ ।

त्यस्ता व्यक्तिलाई सेनालाई बदनाम गरेको, युक्रेनमा रूसी सैन्य कारबाहीबारे झूटो समाचार फैलाएको वा नाबालिगलाई विरोध गर्न प्रोत्साहित गरेको आरोपमा कानुन अन्तर्गत मुद्दा चलाउन सकिने उसले भनेको छ ।

युक्रेनले रूसद्वारा कब्जा गरिएको केही क्षेत्र पुनः आफ्नो नियन्त्रणमा लिएसँगै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजनमार्फत् राष्ट्रको नाममा सम्बोधन गर्दै जगेडामा रहेका सेना परिचालनको आदेश दिएका छन् ।

राष्ट्रपति पुटिनको आदेशसँगै हाल जगेडामा राखिएका करिब तीन लाख सैनिकलाई युक्रेनी युद्धभूमिमा हालै रूसी सेनाले बेहोरिरहेको प्रत्याक्रमणको प्रतिरक्षामा प्रयोग गरिनेछ ।

रूसी कब्जामा रहेका युक्रेनी क्षेत्रहरूमा रूसमा सामेल हुनेबारे जनमतसङ्ग्रह गर्ने घोषणा गरिएको भोलिपल्ट राष्ट्रपति पुटिनले यस्तो घोषणा गरेका हुन् । पुटिनले सम्बोधनका क्रममा भौगोलिक अखण्डताको रक्षा गर्न आवश्यक भएको बताएका थिए ।

प्रतिक्रिया