साफ विजेता बंगलादेशी गोलकिपरलाई नयाँ घर बनाइदिन प्रधानमन्त्रीको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७९, ५ आश्विन

काठमाडौं, ५ असोज (एजेन्सी) । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप विजेता बंगलादेशी गोलकिपरलाई नयाँ घर बनाइदिन निर्देशन दिएकी छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहेकी प्रधानमन्त्री हसिनाले साफ च्याम्पियनसिपमा उत्कृष्ट गोलकिपरको अवार्ड समेत जितेकी रुपना चक्मालाई घर बनाइदिन निर्देशन दिएकी हुन् ।

बंगलादेश महिला टोलीको सफलतापछि रंगामाटीका डेपुटी कमिसनर मोहम्मद मिजानुर रहमानले रुपना र रितु पोर्नाको घरमा मिठाई, फलफूल र फूल उपहार लिएर गएका थिए ।

रुपनाको जीर्ण घरको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री हसिनाको ध्यान आकर्षण भएको थियो । हसिनाका प्रेस सचिव एहसानुल करीमका अनुसार उनले रुपनाको परिवारको निमित्त घर बनाउन अमेरिकाबाट निर्देशन दिएको बताए ।

डीसी मिजानुर रहमानले गोलकिपर रुपना र अर्की खेलाडी रितु पोर्नाको परिवारलाई आर्थिक सहायत स्वरुप डेढ लाख टाकाको चेक समेत हस्तानरण गरेका छन् ।

यस्तै, बंगलादेश क्रिकेट बोर्ड (बिसिबी)ले पहिलो पटक साफ विजेत राष्ट्रिय महिला टिमलाई ५० लाख बंगलादेशी टका पुरस्कार दिने घोषणा गरेको छ ।

बिसिबीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कारको घोषणा गरेको हो । बिसिबीका अध्यक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय महिला टिमले उत्कृष्ट प्रदर्शन र ऐतिहासिक उपलब्धिसहित देशलाई नै गौरवान्वित बनाएको छ । हामी यसको प्रशंसा गर्दै टिमलाई ५० लाख टका प्रदान गर्ने म घोषणा गछु ।’

प्रतिक्रिया