जापानले नेपाललाई १४ अर्ब ऋण र २ अर्ब अनुदान दिने
अखबार टुडे
प्रकाशित:
२०७९, ५ आश्विन

काठमाडौं, ५ असोज । जापान सरकारले नेपाललाई १४ अर्ब र २ अर्ब अनुदान सहायता दिने भएको छ ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उत्त सहायता उपलब्ध गराउनेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

जसअनुसार पूर्वी तराई क्षेत्रमा सिंचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न करिब २ अर्ब अनुदान सहायता बराबरको सम्झौता भएको छ ।

यस्तै शहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि करिब १४.२ अर्ब बराबरको सहुलियतपूर्ण ऋण उपल्बधमा गराउने भएको छ ।

अनुदान सहायता मुख्यतया पूर्वी तराई क्षेत्रमा भरपर्दो र निरन्तर सिंचाइ सुविधाका लागि चन्द्र नहर सिंचाइ प्रणालीको मर्मत सम्भार एवम् सुधारका लागि प्रयोग गरिने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

वार्षिक ०.०१ प्रतिशत व्याजदर, ३० वर्षको भुक्तानी अवधि र १० वर्षको ग्रेस अवधि रहेको सहुलियतपूर्ण ऋण काठमाडौं र पोखरा लगायतका सहरमा प्रसारण चुहावट घटाउन र वितरण प्रणालीको विश्वसनीयता बढाउनका लागि प्रयोग गरिने मन्त्रालयले जनाएको छ ।

दुई आयोजनाको कार्यान्वयनबाट नेपालमा सिंचाइ सुविधाको सुधार गर्न तथा विद्युत् आपूर्तिको विश्वसनीयता बढाउन र प्रशारण चुहावट कम गर्न महत्वपूर्ण योगदान पुग्ने मन्त्रालयको विश्वास छ ।

प्रतिक्रिया