महिला साफ : खेल जसले जिते पनि बन्नेछन् नयाँ विजेता
अखबार टुडे
प्रकाशित:
२०७९, ३ आश्विन

काठमाडौं, ३ असोज । छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि घरेलु टोली नेपालले बंगलादेशको सामना गर्दै छ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बेलुका ५ बजे सुरु हुनेछ । खेल जसले जिते पनि साफ महिला च्याम्पियनसिपको इतिहासमा पहिलो पटक नयाँ विजेता बन्नेछन् ।

साफमा नेपालले पाँचौं पटक फाइनल खेल्दैछ भने बंगलादेशको यो दोस्रो पटक हो । प्रतियोगितामा फाइनल यात्रा तय गर्दा दुवै टोलीले यसअघि ५ पटक च्याम्पियन बनेको भारतलाई हराइसकेका छन् ।

नेपालले सेमिफाइनलमा भारतलाई १–० ले हराएर फाइनलमा इतिहास बनाएको छ । यस्तै बंगलादेशले पनि समूह चरणमा भारतलाई ३–० ले पराजित गरेको थियो । भारतको दबदबालाई तोडिसकेका दुवै टोली अब फाइनल जितेर ट्रफी उचाल्ने योजनामा छ ।

नेपालले समूह चरणमा भुटानलाई ४–० र श्रीलंकालाई ६–० ले पराजित गरेको थियो । बंगलादेशले माल्दिभ्सलाई ३–० ले, पाकिस्तानलाई ६–० र भारतलाई ३–० ले पराजित गरेको थियो । साफको फाइनल पुग्ने क्रममा बंगलादेशले भुटानलाई सेमिफाइनलमा ८–० ले हराएको थियो ।

प्रशिक्षक कुमार थापाले महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य रहेको बताएका छन् । आजको फाइनल खेलमा नेपाललाई घरेलु मैदान र समर्थकको साथ रहने भने उच्च मनोबलका साथ मैदानमा उत्रने छन् । यता बंगलादेश भने उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको छ ।

नेपाल र बंगलादेशबीच अहिलेसम्म ८ खेल भएको छ । जसमध्ये ३ पटक साफमै भेट भएका थिए । यस्तै २ खेल दक्षिण एसियाली खेलकुद (साग), दुई मैत्रीपूर्ण, १ खेल भने ओलम्पिक छनोटमा भएको थियो ।

उक्त ८ वटै खेलमा नेपाल बंगलादेशसँग अपराजित छ । विगत हेर्दा नेपालको पक्षमा रहेपनि बंगलादेश यो पटकम उच्च लयमा देखिएको छ ।

प्रतिक्रिया