
काठमाडौं, असोज २ । निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन गर्दा एक तिहाई महिला प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दललाई निर्देशन दिएको छ ।
संसदीय समितिको निर्देशन अनुसार आयोगले राजनीतिक दललाई प्रत्यक्षतर्फ एक तिहाई महिला उम्मेदवार बनाउन पत्राचार गरेको हो ।
निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘संसदमा समानुपातिकतर्फबाट प्रतिनिधित्व गराउने चलन छ । अब प्रत्यक्षतर्फ पनि एक तिहाई महिला उम्मेदवार बनाउन आयोगले निर्देशन दिनुप¥यो भनेर हामीलाई संसदीय समितिले निर्देशन दिएको थियो । आयोगले संसदीय समितिको निर्देशन कार्यान्वयन गरेको हो ।’
प्रत्यक्षतर्फ एक तिहाई महिला सुनिश्चतताका लागि कुनै कानुन नभए पनि संसदीय समितिको निर्देशन आयोगले पालना गरेको थपलियाले सेतोपाटीलाई बताए ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्र छन् भने प्रदेशसभामा ३ सय ३० क्षेत्र छन् । आयोगको निर्देशन अनुसार दलहरूले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५५ जना महिलालाई उम्मेदवार बनाउनुपर्नेछ भने प्रदेशसभामा १ सय १० जना महिलालाई उम्मेदवार बनाउनुपर्नेछ ।
