सरकारले आजदेखि सञ्चालनमा ल्यायो सुपथमूल्य पसल : कुन वस्तुमा कति छुट ?
अखबार टुडे
प्रकाशित:
२०७९, १ आश्विन

काठमाडौं, १ असोज । नेपालीको महान चाड दशैँलाई लक्षित गर्दै सरकारले शनिबारदेखि देशभर सुपथमूल्य पसल सञ्चालनमा ल्याएको छ ।

सेवाग्राहीलाई छुट दिने लक्ष्यसहित खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथमूल्य पसल सञ्चालनमा ल्याएको हो ।

शनिबारदेखि सञ्चालनमा आएको सुपथ मूल्यपसल कात्तिक १५ गतेसम्म चल्नेछ । सुपथ मूल्य पसलमा दाल, चामल, नुन, तेल, गेडागुडी, खाना पकाउने एलपीजी ग्याँस, मासु, चिउरा लगायतका वस्तु बिक्री गरिने छ । यस्तै, खाद्य कम्पनीले खसी र च्याङ्ग्राको समेत बिक्री वितरण गर्नेछ ।

खाद्य कम्पनीका निर्देशक श्रीमणि खनालले सञ्चालनमा आएको सुपथ मूल्य पसल छठपछिसम्म चल्ने बताए । उनका अनुसार काठमाडौँ उपत्यकाका ४ स्थानसहित देशका ४१ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ ।

काठमाडौँका बिक्री केन्द्रमा खाद्यान्नसहित, खाना पकाउने एलपीजी ग्याँस र इन्डक्सन चुलोसहितका वस्तु बिक्रीमा छन् । तर, उपत्यका बाहिरका स्थानमा भने खाद्यान्न लगायतका वस्तुमात्रै बिक्रीमा रहेको उनले जानकारी दिए ।

कर्पोरेसनका निर्देशक ब्रजेशकुमार झाले कर्पोरेसनले पनि शनिबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको बताए । नेपालभर कूल ९३ स्थानमा कर्पोरेसनका कार्यालयहरू रहेको र ती सबै स्थानबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

उनका अनुसार कर्पोरेसनले दाल, चामल, गेडागुडी, चिउरा र नुन लगायतका वस्तुको बिक्री वितरण गर्ने छ ।

सुपथ मूल्य पसलमा प्रतिलिटर र प्रतिकिलोग्राम २ रुपैयाँदेखि ५० रुपैयाँसम्मको छुट व्यवस्था गरिएको छ । सुपथ मूल्य पसलमा बाहिर चलनचल्तीमा रहेको मूल्यमा उक्त रुपैयाँसम्म छुटमा सामान पाइने भएको हो । सुपथ मूल्य पसलमा सबै प्रकारका चामलमा प्रतिकिलोग्राम ७ रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ ।

यस्तै, सबै प्रकारका दालमा प्रतिकिलो ७ रुपैयाँ नै छुट दिइएको छ । यसैगरी, क्वाँटी र कर्णालीको सिमीमा प्रतिकिलोग्राम १० रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ ।

यसका साथै, घिउमा प्रतिलिटर ५० रुपैयाँ, चिज र पनिरमा प्रतिकिलोग्राम २० रुपैयाँ र दहीमा प्रतिलिटर १० रुपैयाँको छुट दिइने कम्पनीहरूले बताएका छन् । साथै, गहुँ र चिउरामा प्रतिकिलो ७ रुपैयाँ छुट दिइने व्यवस्था छ । यता सबै प्रकारका खाने तेलमा प्रतिलिटर ७ रुपैयाँ छुट व्यवस्था हुँदा नुनमा प्रतिकिलो २ रुपैयाँ छुटको व्यवस्था गरिएको बताइएको छ ।

यसैगरी, जिउँदा खसीबोका र च्याङ्ग्राको बिक्रीमा प्रतिकिलोग्राम ७ रुपैयाँ छुट दिइने छ । बजारको मूल्य नियन्त्रण गर्ने र उपभोक्तालाई सस्तो मूल्यमा सामान उपलब्ध गराउने लक्ष्यसहित कम्पनी र कर्पोरेसनले प्रत्येक वर्षको दसैँदेखि छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्दै आइरहेका छन् ।

तर, यस पटक दसैँमा चिनी र घिउको बिक्री वितरण हुनेछैन । बिक्रीका लागि वस्तु उपलब्ध नभएपनि छुट दिने निर्णय भइनसकेको बताइएको छ ।

प्रतिक्रिया