‘आमा’ अनिलाको एउटा मर्मस्पर्शी गीत (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, १ आश्विन

काठमाडौं, १ असोज । गायिका तथा गीतकार अनिला राई पछिल्लो समय आफ्नो नयाँ एल्बम ‘एन्जेलिना’का कारण चर्चामा छिन् । केही साताअघि मात्र उनले बेलायतबाट नेपाल आएर आफ्नो सातौँ एल्बम ‘एन्जेलिना’ सार्वजनिक गरेकी थिइन् ।

एल्बम सार्वजनिक गरेलगत्तै कर्मथलो बेलायत फर्किएकी अनिलाले एल्बममा संग्रहीत गीतहरुको भिडियो एकपछि अर्को सार्वजनिक गर्दै आएकी छन् ।

यसैक्रममा अनिलाको नयाँ गीतको भिडियो ‘आमा’ सार्वजनिक भएको छ । अनिलाको पछिल्लो एल्बम ‘एन्जेलिना’मा नौ वटा गीत समावेश छन् । जसमा अनिलाको एकल शब्दरचना रहेको छ भने दुईटा गीतमा रोशन राईले स्वरमा साथ दिएका छन् ।

‘एन्जेलिना’मै समावेश ‘आमा’ गीतको भिडियो अहिले सार्वजनिक गरिएको हो, जुन गीत अनिलाले आफ्नी आमाको सम्मानमा गाएकी हुन् । भिडियोमा पनि अनिलाका अलावा उनकी आमा सत्यवति राई र बहिनी एन्जेला राई फिर्चड छन् ।

‘आमा’ गीत निकै मार्मिक र मर्मस्पर्शी छ । गीतमा आमाप्रतिको ममता र स्नेहतालाई चित्रण गरिएको छ । एउटी आमाले सन्तान जन्माएपछि हुर्काउन÷बढाउनलाई निकै सकस गरेको हुन्छ । आमाको माया भनेको संसारकै अमूल्य हो, जो अरु मायामा पाइँदैन । अनिलाले ‘आमा’ गीतमा यही भाव दर्साएकी छन् ।

गीतमा बरिष्ठ संगीतकार शान्तिराम राईको संगीत रहेको छ भने एरेञ्ज पदम राजन मगरले गरेका हुन् । एन्जिला प्रोमी राईको निर्माण रहेको यस गीतको भिडियोलाई गीतकार टिका चाम्लिङ राईको कन्सेप्टमा निर्माण भएको हो ।

यस गीतको भिडियोलाई आदिम अनलाइन टिभीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया