संसदको पाँच वर्षे कार्यकाल सकिनै लाग्दा शीर्ष नेताहरुले भने- मंसिर ४ आउँदैछ, जनताले फैसला गर्नेछन्
अखबार टुडे
प्रकाशित:
२०७९, १ आश्विन

काठमाडौं, १ असोज । प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल शनिबार मध्यरातिबाट सकिँदै छ । प्रतिनिधिसभाको कार्यकालको मैजारो गर्दै शनिबार अन्तिम बैठक बसेको छ । अन्तिम बैठकमा दलका शीर्ष नेताबीच एकापसमा कटाक्ष र ब्यंग्यको दोहोरी चलेको छ ।

प्रतिनिधिसभाको यस कार्यकाललाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मामाथि कटाक्ष गरे । उनले केपी ओलीले प्रतिनिधिसभा दुई दुई पटक विघटन गरेकोप्रति कटाक्ष गर्दै भने, ‘यो प्रतिनिधिसभा नै परमादेशी हो ।’

प्रधानमन्त्री देउवाले परमादेश नआएको भए सहकार्य गरेर सँगै काम गर्ने अवसर नमिल्ने समेत बताए । ‘परमादेशले हामीलाई भेट गर्ने मौका दिएको छ’ देउवाले भने, ‘यसकारणले पनि मैले न्यायालयले पनि न्याय गरेको महशुस गरेको छु ।’

लगत्तै रोष्टममा उक्लिएका ओलीले देउवालाई जवाफमा भने, ‘प्रधानमन्त्रीजीले भन्नुभयो- संसद पुर्नस्थापना भएको हुनाले हामी आजसँगै भेट्न पाएका छौं । फेरि चुनाव घोषणा गर्नुभएको छ । आजबाट अन्त्य हुँदैछ भनेपछि तपाईं प्रतिगमन गर्दै हुनुहुन्छ, यसको अर्थ यही हो ? होइन भने गत वर्ष वैशाखमा चुनाव भइसक्थ्यो ।’ उनले त्यसबेला कुनै प्रणाली वा संविधान हटाउन नलागेको समेत बताए।

‘प्रतिनिधि सभाको निर्वाचन गत वर्ष वैशाख १७ र २७ गते हुन्थ्यो र नयाँ संसद आउँथ्यो । प्रतिगमन कहाँबाट हुन्थ्यो ? यस्ता कुराहरू गर्नु वाञ्छनीय हुँदैन’ ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले सँधै गठबन्धनको सरकारलाई परमादेशी सरकार भन्दै आएकाले देउवाले शनिबार ब्यंग्यात्मक कटाक्ष गरेका थिए ।

ओली र देउवाबीच मात्र होइन, ओलीमाथि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल पनि खनिए ।

प्रतिनिधिसभाको सुरुका वर्षहरुमा ओली र प्रचण्डको जोडी खुबै जमेको थियो । वाम गठबन्धन बनाएर चुनाव लडेका उनीहरुले मिलेर सरकारमात्र बनाएनन्, पार्टी एकता नै गरे । तर, त्यो दीगो रहेन । त्यसैले उनीहरुबीच इगो बस्यो । त्यो शनिबार प्रतिनिधिसभा बैठकमा पोखिएको थियो ।

५ पुस २०७७ मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै अलगअलग बाटो डिँडेका ओली र प्रचण्डले सार्वजनिक मञ्चहरुमा झैं शनिबार प्रतिनिधिसभा बैठकमा आरोप-प्रत्यारोपमै समय खर्चिए ।

ओलीले संसद विघटनको बचाउ गर्दै आफूले घोषणा गरेको चुनाव भएको भए नयाँ संसद आइसक्थ्यो भन्दै सोधे, ‘प्रतिगमन कहाँबाट हुन्थ्यो ?’ प्रधानमन्त्री छान्ने र हटाउने अधिकार अन्यत्रै प्रयोग गर्नुपर्छ भन्ने संविधानमा नभएको भन्दै उनले योचाहिँ संविधानको उल्लंघन भएको बताए ।

सत्तारुढ गठबन्धनले नीति, विधि मिचेर परमादेशबाट सरकार ल्याएको भन्दै ओलीले भने, ‘निर्वाचन हुनुलाई प्रतिगमन भनिँदैन । आवश्यकता अनुसार र समयभित्र निर्वाचन भएन भने प्रतिगमन हुन्छ । हामी निर्वाचनतर्फ जाँदैछौं । म यसलाई प्रतिगमन मान्दिन । परमादेशबाट नक्कली सरकार गठन गर्नुचाहिँ प्रतिमगन हो ।’

यस्तै, प्रचण्डले भने ओलीले लोकतन्त्र र प्रतिगमनको अपव्याख्या गरेको बताए । ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्नु प्रतिगमन भएको भन्दै उनले भने, ‘उहाँले कताकता तुलना गरिदिनुभयो अहिले निर्वाचन गरेको पनि प्रतिगमन हो त ?’

उनले अगाडि भने, ‘तुलना गर्नुको पनि एउटा हद हुन्छ नि ! यहाँ बसेका हामी सबै केही नै नबुझ्ने छन् भन्ने ठान्नुभएको हो कि प्रतिपक्ष दलको नेताले ? नेपाली जनताले केही जान्दैनन्, भेडा नै छन् भन्ने ठान्नुभएको हो कि ?’

प्रचण्डले महाअभियोग सिफारिस समितिमा भएको सुनुवाइले तत्कालीन सरकार र त्यसको नेतृत्वले अदालतलाई गलत ढंगले प्रभावमा पार्ने काम गरेको रहेछ भन्ने पुष्टि भएको बताए । उनले अघि भने, ‘अनि उहाँलाई परमादेश भनेर नकारात्मक टिप्पणी गर्ने अधिकार कहाँबाट प्राप्त भयो ?’

सम्बोधनका क्रममा ओलीले संसदले सुरुमा राम्रो काम गरेको, तर पछिल्लो समय राज्यका सबै अंग निष्प्रभावी भएको बताए । उनले भने, ‘सरकारको बारेमा केही भन्नुपर्दैन, मंसिर ४ गते जनताले सरकार र गठबन्धनलाई जवाफ दिनेछन् ।’

ओलीको उक्त भनाईलाई प्रचण्डले प्रतिवाद गरे । ‘हाम्रो प्रतिपक्षी दलको नेताले भन्नुभयो, ४ गते थाहा हुन्छ को के रहेछ । म विनम्रतापूर्वक स्मरण गराउन चाहन्छु, राष्ट्रियसभा निर्वाचनले सन्देश दिएको होइन र ? बारको चुनावले सन्देश दिएको होइन । सथानीय तहको निर्वाचनले देशव्यापी सन्देश दिएको होइन र ?’

प्रतिनिधिसभा विघटन गर्नु कमजोरी भयो भन्ने स्वीकार गरेको होला भन्ने लागेको भएपनि ओलीले अझै अहंकार देखाएको भन्दै प्रचण्डले भने, ‘ठीकै छ, ४ गते हेर्ने । तपाईंले पनि हेर्नुहुन्छ, हामी पनि हेर्छौं । जनताको फैसला स्वीकार गर्ने नै हो ।’
यस्तै, प्राय नरम बोल्ने एकीकृत समाजवादीका सम्मानीत नेता खनाल पनि ओलीप्रति यसरी खनिए । उनले भने– खड्कप्रसाद ओली शर्माले त्यस्तो के चाहिँ कालजयी काम गरेर हामीले स्मरण गरिरहने ?’

नेता खनालले अघिल्लो निर्वाचनमा वाम गठबन्धन गर्दा मुश्किलले दुई तिहाइ नजिकको बहुमत ल्याएको तर त्यो संयोगमात्र भएको पनि बताए । उनले गठबन्धनप्रति नकारात्मक हुनुपर्ने कुनै कारण नरहेको बताए ।

‘गठबन्धनसँग नकारात्मक हुनुपर्ने, यो गठबन्धन, भनेर अर्कै ढंगले हेर्नुपर्ने छैन, कोही राप्रपासँग गठबन्धन गर्छन्, कोही कांग्रेससँग गर्छन्’ उनले भने, ‘कोही राजतन्त्रवादीसँग गर्छन्, कोही गणतन्त्रवादीसँग गर्छन्, गठबन्धन त सबैले गर्छन् ।’ आफूले वामपन्थी मिलेर जाने प्रस्ताव गरेको तर नेकपा ओलीका कारण सम्भव नभएको बताए ।

‘मैले त भनेको थिएँ वामपन्थी मिलेर जाऔं । तर वामपन्थी भन्ने, सबैभन्दा ठूलो पार्टी हौ भन्ने नेताहरु नै एकताको पक्षमा छैनन्’ उनले भने, ‘एकता कोसँग गर्छन्भन्दा राजतन्त्रवादीसँग । त्यो खालको चिन्तन छ ।’ अहिलेको पाँचदलीय गठबन्धन गणतन्त्रवादी गठबन्धन भएको नेता खनालको भनाइ थियो । खाशगरी देउवा, प्रचण्ड र खनाल ओलीले दुई दुई पटक प्रतिनिधिसभा विघटन गरेप्रति केन्द्रीत भएर ओलीमाथि कटाक्ष गर्न उत्रिएका थिए भने ओलीले प्रतिनिधिसभा विघटनको बचाउ गरेका थिए ।

प्रतिक्रिया