अछाममा पहिरो : १२ जनाको मृत्यु, ८ जना बेपत्ता, उद्धारमा समस्या
अखबार टुडे
प्रकाशित:
२०७९, १ आश्विन

अछाम, असाेज । अविरल वर्षापछि आएको पहिरोका कारण अछाममा १२ जनाको मृत्यु भएको छ । जिल्लाको कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ जनामध्ये ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै जिल्लाकै ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २–२ जनाको शव फेला परेको छ । सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार अन्य ३ जनाको शव जिल्लाका विभिन्न स्थानमा आएको पहिरोमा पुरिएको अवस्थामा फेला परेको छ । पहिरो गएको स्थान विकट रहेकाले पहिरोबाट प्रभावितको उद्धारमा समस्या भइरहेको सहायक प्रजिअ रिजालले बताए ।

अछामको तुर्माखादका पहिरो प्रभावितलाई उद्धार गर्न समस्या भएको हो । हिँड्ने बाटोसमेत नहुँदा पहिरो गएको ठाउँका स्थानीयको उद्धारमा समस्या भएको उनको भनाइ छ ।

शुक्रबार राति दुई बजे तुर्माखाद गाउँपालिका–५ नाडा गाउँमा अचानक गाउँको दुई सय मिटरमाथिबाट पानीको मुहान फुट्दा डाँडा भत्किएर पहिरो गएको थियो ।

पहिरोले स्थानीय नेत्रबहादुर शाही र रिटबहादुर शाहीको घर पुरिएको छ नेत्रका चार जना र रिटका ५ जना परिवार घरसँगै पहिरोमा पुरिएका छन् ।

स्थानीय प्रतापबहादुर शाहीका अनुसार अहिले तत्काल १० घर पनि जोखिम पहिरोको जोखिममा परेको छ । पहिरोमा पुरिएकामध्ये अहिले १६ वर्षीय विमला शाही र जानकी शाहीको शव फेला परेको छ । अन्यको खोजी गर्न गाह्रो भइरहेको प्रहरीले जनाएको छ ।

पहिलो गएको स्थान तुर्माखाँद सदरमुकामबाट १५ कोस टाढा छ । यहाँ हिँडेर जाँदा ९ घण्टा बढी समय लाग्छ । यहाँ स्थानीय सरकारले केही ठाउँमा सडक बिस्तार गरे पनि अहिले गाडी हिँड्ने अवस्था छैन ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परि घाइते भएका र प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

प्रतिक्रिया