संविधानले हार्न नहुने विषयमा सतर्क रहनुपर्छ : ओली
अखबार टुडे
प्रकाशित:
२०७९, १ आश्विन

काठमाडौं, १ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान दिवसको सातौँ वर्षगाँठका अवसरमा शनिबार काठमाडौँमा पदयात्रा आयोजना गरेको छ । सो पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसलाई ‘जनताको दिवस’को रुपमा लिनुपर्ने बताए ।

अध्यक्ष ओलीले संघर्ष र बलिदानीबाट निर्माण भएको संविधान पूर्ण रुपमा कार्यान्वयनमा आएको भन्दै खुसी व्यक्त गरे । संविधानको रक्षा गर्दै नेपालीलाई नै साथमा लिएर देशलाई विकासको बाटोमा लैजानुपर्नेमा उनको भनाइ छ ।

निर्वाचनमा लोकतन्त्र, राष्ट्रियता र संविधानले हार्न नहुने विषयमा सतर्क रहन ओलीले नेता कार्यकर्तालाई सचेत गराए ।
ओलीले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई रोकेर देशलाई अघि बढाउन राजनीतिक, लोकतान्त्रिक अभ्यास, संविधान कार्यान्वयन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, सुशासन, चौतर्फी विकासको अभ्यासलाई अघि बढाउन सशक्त ढंगले अघि बढ्ने बताए । उनले यसको फैसला आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाले गर्ने बताए ।

ललितपुरको कुपण्डोल, काठमाडौँको कालीमाटी, नयाँ बानेश्वर, मैतीदेवी र लैनचौरबाट पदयात्रा सुरु भएर शहीद गेटमा जम्मा भएको थियो ।

प्रतिक्रिया