टुकुचा मिचेर बनाइएका संरचनामाथि महानगरले डोजर चलाउने तयारी
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ भाद्र

काठमाडौं, ३१ भदौ । काठमाडौं महानगरपालिकाले टुकुचा मिचेर बनाइएको संरचनामा डोजर चलाउने भएको छ ।

महानगरले चण्डोलदेखि थापाथलीसम्म टुकुचा खोला अतिक्रमण भएका ५८१ वटा कित्ता जग्गा तथा त्यहाँका बनेका घरमा डोजर चलाउने भएको हो ।

शहरी विकास मन्त्रालयले तयार पारेको टुकुचा खोला करिडोर व्यवस्थापनसम्बन्धी प्रतिवेदनलाई काठमाडौं महानगरपालिकाले स्वीकार गर्दै सोही योजना अनुसार टुकुचा खोला करिडोर बनाउन लागेको छ ।

त्यसका लागि महानगरले बिहीबारदेखि हात्तीसारमा रहेको जय नेपाल फिल्म हलको कम्पाउण्डभित्र डोजर लगाएर टुकुचा खोलाको उत्खनन् सुरु गरेको छ । अब शनिवारदेखि फेरि हात्तीसार क्षेत्रमा छोपिएको टुकुचा खोला बाहिर निकाल्ने गरी उत्खनन् गर्न लागिएको छ ।

हात्तीसारक्षेत्रमा रहेका चारवटा ठूला भवन पूर्णरुपमा भत्कने छन् । यस्तै केही टहरा र खोलाको सेटब्याक मिचेर बनाइएका घरका केही भूभाग पनि भत्काउने तयारी गरिएको छ ।

महानगरका अनुसार वडा नम्बर १ मा रहेको कित्ता नम्बर ११ को नैना कुमारी देवी राणाको जग्गादेखि वडा नम्बर ३२ को कित्ता नम्बर ३३२२ को नजमा बानुसम्मका व्यक्तिले टुकुचा खोलाको अतिक्रमण गरेका छन् ।

टुकुचा खोलाको दायाँबायाँ रहेका ५८१ कित्ता जग्गा तथा त्यहाँ बनेका घर टहरा लगायतका संरचनाले शहरी विकासको मापदण्ड पूरा गरेका छैनन् । टुकुचा खोलाको चौडाई चार मिटर र खोलाको दायाँ तथा बायाँ चार चार मिटर छाड्नुपर्ने भएपनि यसरी दायाँ बायाँ चार चार मिटर नछाडिएका संरचनामा डोजर चलाउन लागिएको महानगरले जनाएको छ ।

पहिले खोला खुला गरी सेटब्याक समेत तयार भएपछि दसैँलगत्तै टुकुचा खोला करिडोर निर्माणका लागि टेण्डर आह्वान गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया