‘सन्तुलित अडान’का लागि चिनियाँ राष्ट्रपति सीलाई पुटिनको धन्यवाद
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ भाद्र

काठमाडौं, ३१ भदौ (एजेन्सी) । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन मामिलामा सन्तुलित अडानका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङलाई धन्यवाद दिएका छन् ।

विहीबार उज्बेकिस्तानको समरकन्दमा दुवै देशका राष्ट्रप्रमुखबीच विहीबार भेटवार्ता भएको थियो । भेटको क्रममा पुटिनले सन्तुलित स्थानका लागि चीनलाई धन्यवाद दिँदै एकध्रुवीय विश्व बनाउने अमेरिकाको प्रयास असफल हुने बताए ।

उनले रुस र चीनबीचको साझेदारी पहाडजस्तै बलियो रहेको बताए । चीनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार पुटिनले भनेका छन्, ‘विश्वभर धेरै परिवर्तनहरू भइरहेका छन् । तर परिवर्तन नभएको एउटा कुरा रुस र चीनबीचको मित्रता हो । रुस र चीनबीचको साझेदारी पहाडजस्तै बलियो छ । रुस र चीन दुवैले समान र राम्रो अन्तर्राष्ट्रिय परिस्थितिको लागि काम गरिरहेका छन् र यो अन्तर्राष्ट्रिय सम्बन्धको लागि उदाहरण हो ।’

रुस एक चीन नीतिको पक्षमा रहेको पनि बताए । सोही क्रममा जिनपिङले चीन रुससँग ‘महाशक्ति’को रूपमा काम गर्न इच्छुक रहेको बताए । उनीहरूले एउटा संयुक्त वक्तव्य प्रकाशित गर्दै द्विपक्षीय सम्बन्धको कुनै सीमा नभएको जनाएका छन् ।

यसअघि गत फेब्रुअरीमा ती दुई नेताबीच शीतकालीन ओलिम्पिक्सका क्रममा बेइजिङमा भेटेका थिए । रुसको आक्रमणलाई चीनले खुलेर समर्थन गरेको छैन तर रुससँगको व्यापार बढेको छ र सम्बन्धमा सुधार आएको छ ।

चीनले रुससँग संयुक्त सैन्य अभ्यास पनि गरेको छ र रुसले विश्वका अन्य देशमा नाकाबन्दी लगाएपछि चीन रुसको साथमा उभिएको देखिएको छ ।

प्रतिक्रिया